१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार १३:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नयाँ आर्थिक वर्षमा ठेक्का लागेन, लुकिछिपी कबाडी कर उठाउन रोकिएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:२५:oo

बाराको परवानीपुर गाउँपालिका कार्यालयले ०७९/८० मा लगाएको जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको म्याद सकेर चालू आर्थिक वर्ष ०८०/८१ नयाँ ठेक्का सम्झौता नभए पनि रकम उठाउने काम भने रोकिएको छैन।  

गत आर्थिक वर्ष ०७९/८० सकिइसक्दा पनि ठेकेदारको नाममा एकजना कार्यपालिका सदस्यले पालिका प्रमुख र प्रशासकीय अधिकृतको निर्देशनमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काबापत रकम उठाउँदै आएका छन्। 

आर्थिक वर्ष ०७९/८० मा गाउँपालिकाले वीरगन्ज महानगरपालिका– २१ का कैलाश मण्डललाई २१ लाखमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलनको ठेक्का दिएको थियो। 

आर्थिक वर्ष ०७९/८० सकेर चालू आर्थिक वर्ष ०८०/८१ मा अहिलेसम्म नयाँ ठेक्का पनि नलागेको परवानीपुर गाउँपालिकाका कार्यपालिका सदस्य जगदीश रामले बताए। नयाँ ठेक्का नलागेसम्म कार्यपालिका सदस्य रामले नै लुकिछिपी कर संकलन गर्दै आएको स्वीकार गर्छन्। 

उनका अनुसार पालिकामा नयाँ ठेक्का नलागेसम्म आफैँले रसिद छपाएर रकम उठाउँदै आएको र आगामी दिन यो ठेक्का आफैँ लिने गरी तयारी गरिरहेको बताए। 

कर उठाउने समयसीमा सकिए पनि पालिका अध्यक्ष र अधिकृतको निर्देशनमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको रकम उठाउन काम नरोक्ने अवस्था छ। 

अर्को एक जनप्रतिनिधिका अनुसार गाउँपालिका अध्यक्ष राम क्षत्री कुर्मी र प्रशासकीय अधिकृत मुन्ना रौनियारलाई नयाँ ठेक्का नलागेसम्म करबापत उठाएको रकममा भागबन्डा गर्न आश्वासन दिएका छन्। 

रामले ठेक्का नलागेको समय अवधिसम्ममा उक्त करको नाममा सवारी कर पनि उठाइराख्ने र नयाँ ठेक्का अरूले पाए छाड्ने, आफूले पाए जारी राख्ने आर्थिक प्रलोभन दिएका छन्।

ठेक्का लागेन, रकम उठाउने कार्य रोकिएन 

परवानीपुर गाउँपालिका कार्यालयले गत असार २९ मा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको रकम उठाउन आर्थिक वर्ष ०८०/८१ का लागि ठेक्काको सूचना आवेदन आह्वान गरेको छ। 

पालिकाले सुरुवाती ३० लाखको सीमा राखेर एक महिनाको सूचना जारी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले बताए। उनले पालिकामा रहेका विभिन्न प्रकारको नयाँ ठेक्काको सूचना आह्वान भएकाले पुराना ठेक्काबापत रकम उठाउन नपाइने बताए। 

उनका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ नयाँ ठेक्काका लागि पहिलो चरणमा पालिकाले गत असार २९ मा बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको अन्तिम म्याद गत २८ साउनसम्म राखिएको थियो। 

गत २८ साउनसम्ममा एउटा मात्र आवेदन परेको र सो दिन मौसम अनुकूल नरहेको र ठेकदारहरूले आवेदन दिने र फिर्ता लिने क्रममा होहल्ला गरेकाले कार्यपालिकाको आकस्मिक बैठकले भदौ १ गतेसम्म म्याद थपिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

पालिकाका एक कर्मचारीका अनुसार पालिकाले भदौ १ सम्म म्याद राखेपछि १८ जना आवेदन फारम खरिद गरेर तीनजनाले मात्र आवेदन दिएका थिए। उनका अनुसार आवेदनकर्तामध्येका परवानीपुर गाउँपालिका– ५ बहुवरीका अनुरुद्ध प्रसादले भ्याटबाहेक ४६ लाखमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्का पाए। 

ठेक्का पाएका व्यक्तिले धरौटीबापत दुई लाख ५० हजार रकम पालिकाको खातामा राखेर कर संकलन नगर्दै ठेक्का चलाउन नसक्ने भन्दै करिब १५ दिनअगाडि पालिकाले जानकारी गराएको उक्त कर्मचारीले बताए। 

त्यस वेलादेखि नयाँ ठेक्काका लागि अहिले कुनै पनि प्रक्रिया अगाडि बढेको  छैन। ठेकेदारलाई नयाँ आर्थिक वर्ष ०८०/८१ मा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्का लगाउन सूचना जारी भएको जानकारी गराइएको र कर नउठाउन निर्देशन दिएको उनले बताए। 

उनले उक्त करको नाममा सवारी कर पनि उठाएको उजुरी पटक–पटक पालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएका छन्। तर, पालिकाका जनप्रतिनिधि र प्रहरीको आर्थिक मिलेमतोमा उक्त करको नाममा अवैध कर उठाउने काम नरोकिएको गाडीका चालकहरूले गुनासो गर्दै आएका छन्। 

ad
ad