१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o भदौ २९ शुक्रबार १३:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङका अधिकांश वधशाला मापदण्डविपरीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १३:१५:oo

धादिङमा वधशालाहरू मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको छ। जिल्लामा सञ्चालन भइरहेका अधिकांश वधशालामा काटिएका मासु खानयोग्य नरहेको अनुगमनमा पुगेको सरकारी टोलीले जनाएको छ।

‘धादिङबेँसी र आसपासका वधशालाहरूमा काटिएका मासु ढुक्कले खान मिल्छ भन्न सकिँदैन,’ नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुगेका जिल्ला भेटेरेनरी अस्पतालका पशुविज्ञ डाक्टर सन्दीप सिलवालले भने, ‘पशु वधशाला तथा वधस्थल सञ्चालन मापदण्डअनुसार मासु काट्दा माक्स, एप्रोन, पन्जा, गमबुट अनिवार्य लगाउनुपर्छ। मासु काट्दा लगाउने र बाहिर लगाउने कपडा छुट्टै हुनुपर्छ। तर, यी सामान्य मापदण्ड पनि लागू गरेका छैनन्।’

मापदण्डअनुसार सफा र स्वच्छ पानीले मासु धुनुपर्ने भए पनि खोलाको धमिलो पानी तानेरै धुने गरेको भेटिएको उनको भनाइ छ। उनले भने, ‘मासु राखेका स्टोरहरू पनि सफा छैनन्।’

नीलकण्ठ नगरपालिका– ८ को कमेरेमा रहेको नमल फ्रेस हाउस र नीलकण्ठकै वडा नम्बर १२ मा रहेको लापाली मासु पसलको बिहीबार विज्ञसहितको टोलीले अनुगमन गरेको हो। बिहान ५ बजे नै अनुगमन टोली पुग्दा लापाली मासु पसलको नामबाट सञ्चालित वधशाला बन्द गरेर राखेको भेटियो। ‘काट्नकै लागि ल्याएर राखिएका पशुहरू थिए, तर वधशाला बन्द थियो,’  नीलकण्ठ नगरपालिकाका उपमेयर एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दीपक विश्वकर्माले भने, ‘कतैबाट सूचना लिक भएर बन्द गरेको हुन सक्ने बुझिन्छ ।’

कमेरेको नमल फ्रेस हाउस वरिपरि मान्छे पुग्नै नसक्ने अवस्थामा पाइएको छ। पशु काटेर थुपारिएका छाला र हड्डीहरूले दुर्गन्धित त छँदै छ, कुहिएको छाला र हड्डीले वरपर जान सक्ने अवस्थासमेत छैन। वधशालामा हुनुपर्ने न्यूनतम मापदण्ड नै लागू नगरेको भेटिएको उपमेयर विश्वकर्माले बताए । ‘स्वस्थकर मासुका लागि वधशाला प्रयोग गरिन्छन्। तर, वधशाला नै फोहोर र दुर्गन्धित हुनु उपभोक्ताको स्वास्थ्यमाथिको ठूलो खेलवाड हो,’ उनले भने।

पशु बध गर्नुअघि बेहोस बनाउने र मार्नका लागि प्रयोग गर्ने उपकरण वधशालामा छैन। टाउकोमा घनले हानेर मार्ने पुरानै तरिका अपनाउने गरेको अनुगमन टोलीले भेटेको छ । मासु खानयोग्य हुन्छ कि हुँदैन भनेर काट्नुअघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने मापदण्ड छ । काटिसकेपछि त्यो मासु खान योग्य छ कि छैन भन्ने पनि परीक्षण गर्नुपर्ने हुन्छ। तर, दुवै वधशालामा पशु र मासु परीक्षण गर्ने मान्छे र उपकरण नै छैन।

वधशालाले लापरबाही तरिकाले काटिरहेको मासु ल्याएर पसलेहरूले बेच्ने गरेको नीलकण्ठ नगरपालिका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले बताए। एउटा वधशालामा औसतमा दैनिक दुईदेखि तीनवटा राँगा तथा भैँसी काटिने गरेको छ। बजारका प्रायः सबै मासु पसलहरूले त्यहीँबाट ल्याएर उपभोक्तालाई बिक्री गरिरहेका छन्। पसलमा मासु सफा देखिए पनि गुणस्तरहीन हुन सक्ने अनुगमन टोलीको ठम्याइ छ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, नगरपालिका, भेटेरेनरी अस्पताललगायतले वधशालाहरूलाई पटकपटक सुधार गर्न निर्देशन दिने गरेका छन् । यद्यपि,  विभिन्न बहाना बनाउँदै सञ्चालकहरूले वर्षाैँदेखि आलटाल गरिरहेका छन्। बिहीबार अनुगमन टोलीले सरसफाइको कुरालाई तत्काल लागू गर्न र भौतिक संरचनाका कुरा एक हप्ताभित्र सुधार गरेर मापदण्डको दायरामा ल्याउन निर्देशन दिएर फर्किएको छ।

धादिङबेँसीका अधिकांश मासु पसलहरू पनि मापदण्डविपरीत नै भेटिएका छन् । बुधबार १७ वटा  र बिहीबार ४० वटा मासु पसल अनुगमन गर्दा दुई–तीनवटामा मात्रै पूर्ण रूपमा मापदण्ड लागू भएको पाइएको नीलकण्ठ नगरपालिका पशु सेवा शाखाका प्राविधिक राजेश कोइरालाले जानकारी दिए। 

जिल्ला सदरमुकाम धादिङबेँसीको पुछार बजार, बीचबजार, सिरान बजारसहित आसपासमा कतिवटा मासु पसल सञ्चालनमा छन् भन्ने तथ्यांक छैन । सिरानबजारको लीला मासु पसलको फ्रिजमा सडेको मासु पाइएको थियो। पुछार बजार र मालेबगर क्षेत्रका मासु पसल दर्ताविनै सञ्चालन भइरहेका पाइएको छ ।