१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अजित अधिकारी काठमाडाैं
Invalid date format o६:२४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिमरा, भरतपुर र जुम्ला विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै निगम

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२४:oo

नेपाल आयल निगमले सिमरा, भरतपुर र जुम्ला विमानस्थलबाट उडान तथा अवतरण गर्ने हवाईजहाजलाई इन्धन उपलब्ध गराउने भएको छ । हाल ती स्थानमा इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाडौंबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरेका छन् ।आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीनवटै विमानस्थलमा चाँडै रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) पठाएर इन्धन सुविधा प्रदान गर्न लागिएको जानकारी दिए ।

‘यी विमानस्थलमा इन्धन भर्ने सुविधा छैन । इन्धन भर्ने सुविधाको माग गर्दै स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीले लिखित पत्राचार गरेका छन्,’ उनले भने, ‘अब सकेसम्म दसैँअगाडि नै अस्थायी रूपमा भए पनि इन्धन भर्ने सुविधा प्रदान गर्न थालिहाल्छौँ, यसबाट यात्रु र विमान कम्पनीलाई सहज हुने विश्वास छ ।’

उमेशप्रसाद थानी, कार्यकारी निर्देशक, नेपाल आयल निगम लिमिटेड

विमान कम्पनीलाई चाहिने हवाई इन्धन उपलब्ध गराउने दायित्व आयल निगमको हो । अधिकांश विमानस्थलमा निगमले इन्धन डिपो राखेर विमानलाई हवाई इन्धन उपलब्ध गराइरहेका छौँ । अहिले सिमरा, भरतपुर र जुम्लाबाट माग आएकाले जतिसक्दो चाँडो यी विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सुरु गर्छौँ । यहाँ डिपो राख्दा हुने नाफा–घाटा नहेरी विमान कम्पनी र यात्रुको सेवालाई ध्यान दिनेछौँ ।
 

आयल निगमले धेरै तेल खपत हुने भद्रपुर, विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका विमानस्थललाई उच्च प्राथमिकता दिएर विमानस्थल परिसरमै हवाई इन्धन डिपो स्थापना गरेको छ । तर, थोरै इन्धन खपत हुने विमानस्थलमा हवाई इन्धन डिपो राख्न चासो नदिँदा विमान कम्पनी र यात्रुले दुःख पाउँदै आएका छन् ।

सिमरा विमानस्थल प्रमुख सूर्यबहादुर खत्रीले यात्रु र विमान कम्पनीको सहजताका लागि इन्धन भर्ने सुविधा अपरिहार्य भएको बताए । ‘सिमरामा दैनिक कम्तीमा नौवटा उडान हुने गरेका छन् । यहाँ आउने–जाने जहाज काठमाडौंबाट तेल बोकेर आउन बाध्य छन्,’ खत्रीले भने, ‘सधैँ यसरी नै दुईतर्फी तेल बोकेर विमान कम्पनीलाई सेवा दिन गाह्रो हुन्छ । त्यसैले सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराउन आयल निगमलाई हामीले पत्राचार पनि गरेका छौँ ।’

सबैभन्दा नजिक र सीधा हवाई रुटमा रहेको सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा भए प्रतिकूल मौसमका वेला विमान डाइभर्ट गर्न धेरै सजिलो हुने खत्रीको भनाइ छ । अहिले काठमाडौं विमानस्थलमा कुनै समस्या भए जहाजलाई विराटनगर विमानस्थलमा अवतरण गराउने गरिएको छ ।

केही समयअघि सिमराबाट उडेको एउटा जहाज काठमाडौंमा मौसम प्रतिकूल हुँदा आकाशमै सात फन्को लगाएको थियो । मौसममा सुधार नआएपछि सो विमान विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । सिमरामा इन्धन भर्ने सुविधा नहुँदा लामो दूरीको विराटनगरमा अवतरण गराउँदा यात्रु र विमान कम्पनीले अनावश्यक दुःख पाएका थिए । 

‘सिमरामा तेल भर्ने सुविधा नहुँदा अहिले विराटनगरजस्तो लामो दूरीमा लगेर जहाजलाई आकस्मिक अवतरण गराउनुपर्ने बाध्यता छ । यहाँ तेल भर्ने सुविधा हुनासाथ काठमाडौं विमानस्थलमा प्रतिकूल मौसम हुँदा बढीमा १५ मिनेटको दूरीमा रहेको सिमरामा ल्यान्ड गराउन सकिन्छ,’ सिमरा विमानस्थल कार्यालय प्रमुख खत्रीले भने । आयल निगमको अध्ययनअनुसार सिमरा र भरतपुरमा दैनिक करिब पाँच–पाँच हजार लिटर हवाई इन्धन खपत हुन्छ । जुम्लामा भने कार्गो विमान र हेलिकोप्टरको उडानले खपत परिमाण घटबढ हुने गरेको छ । 

स्थानीय तह, विमानस्थल र विमान कम्पनीको पत्राचार
काठमाडौंबाट सबैभन्दा नजिक र सीधा हवाई रुट रहेको सिमरा र भरतपुर विमानस्थलमा विमानलाई इन्धन भर्ने सुविधा जडान गर्न वायुसेवा सञ्चालक संघ, नेपालले बिहीबार आयल निगमलाई पत्राचार गरेको छ । दुवै विमानस्थलमा यथाशीघ्र इन्धन भर्ने सुविधा भए जहाज र यात्रुलाई सहज हुने संघको भनाइ छ ।

त्यस्तै, बुद्ध एयरले २१ भदौमा निगमलाई पत्र लेख्दै सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा भए उडान संख्या बढाउन सक्ने र आन्तरिक विमानस्थलको सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थल हुने बताएको छ । त्यस्तै, सिमरा नागरिक उड्डयन कार्यालयले २२ भदौमा, १७ भदौमा जितपुर–सिमरा उपमहानगरपालिका र १९ भदौमा उद्योग वाणिज्य महासंघको मधेश प्रदेश समितिले समेत पत्राचार गर्दै सिमरामा हवाई इन्धन भर्ने सुविधा जडान गर्न माग राखेका छन् ।