एमसिसी कार्यान्वयनमा थपियो झमेला : प्रसारणलाइन निर्माण गर्न न्यूनतम प्रस्ताव नै बजेटभन्दा २० अर्ब बढी

टेन्डरमा सहभागी कम्पनीले गरे न्यूनतम ३६ करोड ५९ डलरको प्रस्ताव, तर एमसिएको बजेट भने २२ करोड ६ लाख डलर मात्रै, एमसिसीले थप रकम नदिने हुँदा नेपाल सरकारलाई दायित्व बढ्ने जोखिम

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

पूर्वतयारीको काम सम्पन्न नगरी कार्यान्वयनमा प्रवेश गरेको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानको परियोजनामा अर्काे झमेला थपिएको छ । प्रसारणलाइनतर्फको टेन्डरमा सहभागी कम्पनीहरूले लागत अनुमानभन्दा बढी बजेट (वित्तीय) प्रस्ताव गरेका छन् । परियोजना कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले यसअन्तर्गत बन्ने चार प्रसारणलाइनका लागि २२ करोड ६ लाख डलर बजेट छुट्याएर टेन्डर आह्वान गरेको थियो । तर, टेन्डरमा सहभागी कम्पनीहरूमा सबैभन्दा थोरै वित्तीय प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत बढी देखिएको छ । एमसिए नेपालले सार्वजनिक गरेको वित्तीय प्रस्तावअनुसार टेन्डरमा सहभागी कम्पनीले न्यूनतम ३६ करोड ५९ डलर प्रस्ताव गरिएको छ । जुन एमसिए नेपालको लागत अनुमानभन्दा १४ करोड ५३ लाख डलर बढी हो । यो वर्तमान विनिमय दरअनुसार झन्डै २० अर्ब बढी हो । 

एमसिएअन्तर्गत बन्ने चारवटा प्रसारणलाइनलाई तीन समूह (लट)मा विभाजन गरेर गत १२ मंसिर (नोभेम्बर २८) देखि ७ जेठ (२२ मे तारिख)सम्म टेन्डर आह्वान गरिएको थियो । त्यसमा भारतका मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केइसी इन्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एन्ड टर्बाे लिमिटेड गरेर ६ वटा आवेदन परेका थिए । मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त प्रस्ताव प्राविधिक रूपमा फेल भएको छ । पास भएका अन्य पाँच कम्पनीको वित्तीय प्रस्ताव एमसिए नेपालले १९ वैशाखमा खोलेको थियो । त्यस क्रममा उनीहरूको वित्तीय प्रस्ताव लागत अनुमानभन्दा धेरै बढी देखिएको छ । एमसिए नेपालको तथ्यांकअनुसार लट–३ मा मात्रै एउटै कम्पनीले २६ करोड १२ लाख डलरको प्रस्ताव गरेको छ ।

  टेन्डरको लट–१ मा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, लट–२ मा रातमाटे–न्यु दमौली र लट–३ मा न्यु दमौली–न्यु बुटवल र न्यु बुटवल–नेपाल–भारत बोर्डर प्रसारणलाइन छन् । एक कम्पनीले बढीमा दुई लटसम्मको ठेक्का पाउनेछ । टेन्डरमा लट–१ मा १३ करोड १५ लाख डलर, लट–२ मा १० करोड ५४ लाख डलर र लट–३ मा १२ करोड ९० लाख डलरबराबरको न्यूनतम वित्तीय प्रस्ताव परेको छ । न्यूनतम प्रस्ताव स्वीकार गर्दा पनि लागत उच्च बढ्ने देखिन्छ । 

 यस्तो हुन्छ अबको प्रक्रिया
स्वतन्त्र परामर्शदाताले टेन्डरमा परेको वित्तीय प्रस्ताव फाइनान्सियल्ली रिजनेबल भए–नभएको मूल्यांकन गर्नेछ । सोही परामर्शदाता कमिटीको मूल्यांकनका आधारमा यसबारे निर्णय हुनेछ । यसअन्तर्गत ७० करोड डलरबराबरको निश्चित बजेट छ । त्यही बजेटमा थप तीन सबस्टेसन, ७७ किमि सडक मर्मत र सञ्चालन खर्च पनि धान्नुपर्छ । यो प्रस्ताव स्वीकार गरेमा कुल बजेटको आधाभन्दा बढी रकम प्रसारणलाइनमा खर्च हुने देखिन्छ र अन्य आयोजना बनाउन बजेट नपुग्न पनि सक्छ । छुट्याइएको बजेटभन्दा बढी रकम लाग्ने देखिएमा नेपाल सरकारले बजेट थप गर्नुपर्छ । एमसिसीले भने पैसा थप्दैन । सरकारले यसअघि पनि ६ करोड ७० लाख डलर थप्ने निर्णय गरिसकेको छ ।  

सोही कारण यो वित्तीय प्रस्ताव रिजनेबल नहुन सक्ने सरोकारवाला बताउँछन् । साथै, अर्थमन्त्री डा. प्रकाशशरण महत पनि यो वित्तीय प्रस्ताव उचित नभएको भन्दै पुनः बिड योजनामा रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । उनले भने, ‘प्रस्तावित रकम लागतभन्दा धेरै देखिएको छ, तसर्थ पुनः बिडमा जानुपर्ने हाम्रो धारणा छ ।’ तर, स्वतन्त्र कमिटीले रिजनबेल भए–नभएको जानकारी दिएपछि मात्रै यसबारे निर्णय हुने स्रोतको भनाइ छ । सामान्यतया अन्य बोलपत्रहरूमा लागत अनुमानभन्दा कम नै वित्तीय प्रस्ताव आउँछ । तर, एमसिसीमा भने अस्वाभाविक रूपमा बढी वित्तीय प्रस्ताव आएको छ । के–कति कारणले वित्तीय प्रस्ताव बढी आयो भन्ने विषयमा पनि स्वतन्त्र प्राविधिक समूहले मूल्यांकन गर्ने स्रोतले बताए ।

 यसरी हुनेछ परियोजना कार्यान्वयनमा प्रभाव
एमसिसीसँगको पूर्वसम्झौताअनुसार कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षमा काम सम्पन्न गर्नुपर्छ । अन्यथा, खर्च हुन बाँकी रकम एमसिसीले व्यहोर्दैन । यो परियोजना ३० अगस्टबाट कार्यान्वयनमा प्रवेश गरेको हुनाले आगामी २९ अगस्ट ०२८ सम्म सम्पन्न गरिसक्नुपर्छ । तर, अझै जग्गा प्राप्ति र परियोजना निर्माणको ठेक्का सम्झौता भएको छैन । यस्तो अवस्थामा टेन्डर रद्द गरेर पुनः आह्वान गर्दा थप समय खेर जानेछ ।

टेन्डर प्रक्रिया यहाँसम्म आउँदा साढे नौ महिना समय खेर गइसकेको छ । मूल्यांकनमा मात्रै झन्डै साढे तीन महिना बितिसक्यो । अझै प्रक्रिया सकिएको छैन । पुनः टेन्डर आह्वान गर्दा ५–६ महिना थप समय लाग्ने निश्चित छ । साथै, डिजाइन एन्ड बिल्ड मोडेलमा ठेक्का दिँदा छनोट हुने कम्पनीले आयोजनाको स्थलगत अध्ययन गरेर डिजाइन बनाउनै आठ–नौ महिना लाग्नेछ । टेन्डर रद्द गरेर पुनः टेन्डरमा जाँदा कार्यान्वयन तालिका प्रभावित हुने देखिन्छ । यही टेन्डरबाट ठेकेदार कम्पनी छनोट भएमा पनि बजेट अभाव हुने देखिन्छ । बजेटका कारण एमसिसी कार्यान्वयनमा अर्काे झमेला थपिएको एक अधिकारीले बताए ।  

एमसिसी कम्प्याक्ट कोषको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीको एमसिसीअन्तर्गत तीन परियोजना बन्दै छन् । तीन सय १५ किमि लामो चार सय केभी क्षमताका चार प्रसारणलाइनसहित तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड मर्मत गर्न सेप्टेम्बर २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो । १५ फागुन ०७८ (२७ फेब्रुअरी २०२२) मा सम्झौता संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो । ४००/४०० केभी क्षमताका सबस्टेसन रातमाटे, तनहुँको दमौली र पश्चिम नवलपरासी–पश्चिम भुमहीमा बन्नेछन् । यहीअन्तर्गत महेन्द्र राजमार्गमा भालुबाङबाट पश्चिमतर्फको ७७ किमि खण्ड विशेष रूपमा मर्मत गरिँदै छ । 

सबस्टेसन निर्माणका लागि १० चैतमा ग्लोबल टेन्डर आह्वान गरिएको थियो । म्याद पटक–पटक थपेर आगामी असोज १८ गतेसम्म पुर्‍याइएको छ । सडक निर्माणका लागि भने टेन्डर नै आह्वान भएको छैन । यसको टेन्डर आह्वान आगामी पुससम्म हुने एमसिए नेपालले नयाँ पत्रिकालाई उपलब्ध गराएको लिखित जवाफमा उल्लेख छ । 

सुझावित समाचार