Skip This
‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Saturday, 27 July, 2024
रासस नुवाकोट
२o८o भदौ २६ मंगलबार १८:२७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

Read Time : > 1 मिनेट
रासस, नुवाकोट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १८:२७:oo

काठमाडौंको टोखाबाट नुवाकोटको शिवपुरी जोड्ने टोखा–छहरे सुरुङमार्ग सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अघि बढ्ने भएको छ।

उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गरे।

सुरुङमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा रु एक अर्ब २५ करोड विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न विषयगत मन्त्रालयको तर्फबाट अनुगमन गरिएको अर्थमन्त्री डा. महतले सो क्रममा जानकारी दिए।

उनका अनुसार सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले सम्भावित स्थानलाई केन्द्रित गरेर आयोजना निर्माणबाट लिन सक्ने लाभ र पुग्न सक्ने प्रभावको सम्बन्धमा इआइए गर्न लागिएको हो।

‘सुरुङमार्ग निर्माण अघि बढिसकेकाले कामलाई तीव्र बनाउन देखापर्ने समस्या समाधान गर्न संयुक्त रूपमा लागेका छौँ,’ अर्थमन्त्री डा. महतले भने, ‘प्रधानमन्त्रीसहितको नेपाली पक्षको आसन्न चीन भ्रमणमा सुरुङ निर्माणमा चिनियाँ सहयोग खोजिनेछ।’

चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। उनका अनुसार सुरुङ निर्माण गर्न काठमाडौंतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा विन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा विन्दु सम्भावित देखिएका छन्।

‘थोरै लगानी र छोटो समयमा नै निर्माण गर्न सक्ने गरेर प्रारम्भिक अध्ययनमा देखिएकाले निर्माण सुरु गर्न लागिएको हो,’ मन्त्री ज्वालाले भने, ‘मुख्य चुनौती लगानीको भएकाले आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ।’

सुरुङमार्ग निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बताए। स्थलगत अवलोकनपश्चात उनले आयोजना निर्माणबाट वनजंगल तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने प्रतिबद्धता जनाए।

टोखा–छहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेसँगै विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, विमला सुवेदीलगायतका सरोकारवालाबाट स्थलगत अवलोकन गरिएको हो।

प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा विन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ। ३.३ किलोमिटर, ३.६ किलोमिटर र ४.२ किलोमिटर लम्बाइको हुन सक्ने अध्ययनमा देखिएको छ।

सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौं जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमि सडक छोटो हुनेछ।