१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शान्ता कमली काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o९:oo

मनाङमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । यहाँको निलो पानीमा बादलको छाया तैरिएको दृश्यले धेरैलाई लोभ्याउने गर्छ । तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको यो ताल हेर्नका लागि ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । यहाँको पदयात्राका क्रममा स्थानीय संस्कृतिलाई नजिकबाट अवलोकन गर्दै प्राकृतिक दृश्यावलोकनको मज्जा  लिन सकिन्छ । 

सवारीसाधनमार्फत 
लमजुङको बेँसीसहरबाट मनाङको चामे, पिसाङ हुँदै खाङसारसम्म मोटर जाने गर्छ । बेँसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालनमा छ । खाङसारदेखि श्रीखर्क भएर तीन घन्टाको पैदलयात्रामा तिलिचो तालको बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट पैदल पाँच घन्टा हिँडेपछि तिलिचो ताल पुगिन्छ । 

पैदलयात्रा 
लामो पैदलयात्रा गर्न चाहनेहरूका लागि पनि तिलिचो निकै राम्रो रुट हो । यहाँको स्थानीय रहनसहनमा भिज्दै प्राकृतिक दृश्यहरू अवलोकन गर्ने इच्छा धेरैलाई हुन्छ । बेँसीसहरबाट पदयात्रा सुरु गरेपछि पहिलो दिन बाहुनडाँडा वास बस्न पुगिन्छ । दोस्रो दिन घ्यार्मु, स्याँगे हुँदै च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा पुगेर वास बस्न सकिन्छ । तेस्रो दिन धारापानी, दानाक्यु, बगरछाप, चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङ सदरमुकाम चामेमा वास बस्न पुगिन्छ । चामेबाट लमजुङ हिमाल, मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्यावलोकन गर्दै चौथो दिनको यात्रा सुरु हुन्छ ।

अर्को दिन ढुकुरपोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा वास बस्न सकिन्छ । छैटौँ दिन ग्रिन ताल हुँदै घ्यारु, ङावल, भाक्रामा वास बस्न पुगिन्छ । यहाँबाट तीन हजार ५४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोंकर घुम्न सकिन्छ । त्यस्तै, पर्यटकले भाक्रा गाउँबाट ४६०० मिटर उचाइमा रहेको आइस लेक, मिलारेपा केभजस्ता प्राकृतिक र धार्मिक स्थानहरूको अवलोकन गर्दै दुई दिन मनाङ गाउँमा वास बसेर यात्रा फेरि सुरु गर्ने गर्छन् । मनाङ गाउँबाट खाङसार, श्रीखर्क हुँदै ४२०० मिटर उचाइमा रहेको तिलिचो बेसक्याम्प पुगिन्छ । त्यसपछि तिलिचो ताल पुग्न सकिन्छ ।

तिलिचो ताल जाने उचित समय कहिले ?
असोज, कात्तिक र मंसिरको सिजन तथा चैत, वैशाख र जेठको सिजन तिलिचो ताल घुम्नका लागि उपयुक्त हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । यो समयमा आकाश खुलेको हुन्छ र सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । वर्षा सिजनमा लेकाली फूलहरू फुल्ने र तिनीहरूको गन्धले लेक लाग्ने गर्छ । हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।

कति खर्च लाग्छ ?
विभिन्न टुर कम्पनीले तिलिचोको प्याकेज बनाएर बिक्री गरिरहेका हुन्छन् । स्वदेशी तथा विदेशी दुवै पर्यटकलाई लक्षित गरेर प्याकेज बनाइएको हुन्छ । यदि आँट र गन्तव्यबारे पर्याप्त जानकारी भएमा व्यक्तिगत रूपमा पनि तिलिचो जान सकिन्छ ।  यहाँ पुग्नका लागि कम्तीमा २५ हजार छुट्याउनुपर्छ । तिलिचो यात्रामा नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तुजस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने गर्दछ ।

ad
ad