
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईमाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै छ । संस्थापन पक्षसँग असन्तुष्ट रहेका इतर समूह र गत निर्वाचनमा पराजित समूहले सोमबार एन्फाको केन्द्रीय कार्यलयमा अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ । सोमबार हुने भर्चुअल साधारणसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
संस्थापन पक्षसँग असन्तुष्ट रहेका क्लब, जिल्ला र केन्द्रीय सदस्यले आइतबार अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरेका छन् । प्रस्ताव दर्ता भएपछि विधानको धारा ४१ अनुसार नेम्बाङ र राई स्वतः निलम्बनमा पर्नेछन् । अविश्वासको प्रस्ताव दर्ता हुन साधारणसभामा उपस्थित दुईतिहाइ सदस्यको हस्ताक्षर आवश्यक पर्छ । एन्फाको साधारणसभामा ८६ सदस्य छन् ।
‘साधारणसभाले सम्बन्धित निकायअन्तर्गतका सदस्यलाई बर्खास्त गर्न सक्नेछ । कार्यसमितिले त्यस्ता व्यक्तिको बर्खास्तीलाई साधारणसभाको विषयसूची (एजेन्डा) मा समावेश गर्नेछ । कार्यसमितिले त्यस्ता सदस्यलाई आउने साधारणसभाको बैठकसम्मका लागि अस्थायी रूपमा बर्खास्त गर्न सक्दछ । कार्यसमितिको कुनै पनि सदस्यको बर्खास्तीसम्बन्धी प्रस्ताव कार्यसमिति वा साधारणसभाको विषयसूचीमा समावेश गर्नका लागि पेस गर्न सक्नेछ । तर, स्वतन्त्र निकायका सदस्य (व्यक्ति)को हकमा बर्खास्तीसम्बन्धी कुनै पनि निर्णय कंग्रेसले मात्र गर्न सक्नेछ,’ धारा ४१ मा उल्लेख छ ।
अविश्वासको प्रस्ताव लागेका सदस्यहरूले प्रतिरक्षा गर्न पाउने विधानमै उल्लेख छ । ‘अभियोग लागेको निकायका सदस्यहरूलाई प्रतिरक्षा गर्ने अधिकार सुरक्षित रहनेछ । यदि बर्खास्तीको प्रस्ताव पुष्टि भए साधारणसभा वा कार्यसमितिले गोप्य मतदानद्वारा निर्णयमा पुग्नेछ । प्रस्ताव पारित हुनका लागि दुईतिहाइ बहुमतको आवश्यकता पर्दछ । बर्खास्तीमा परेको व्यक्ति वा निकायलाई तत्कालै जिम्मेवारीबाट मुक्त गरिनुपर्दछ,’ धारा ४१ मै भनिएको छ ।
वरिष्ठका आधारमा एन्फाका वरिष्ठ उपाध्यक्षले अविश्वासको प्रस्ताव पारित भएको ३० दिनभित्र साधारणसभा बोलाउनेछन् । एन्फाभित्रको आन्तरिक द्वन्द्व समाधान गर्न नसक्दा अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामना गर्नुपरेको हो । यो दुई साताभित्र यी दुवै व्यक्तिमाथि ३२ क्लबले खुलेरै विरोध गर्दै आएका थिए । असन्तुष्ट पक्षले नेतृत्व नसच्चिए नेपाली फुटबलमा ठूलो दुर्घटना हुने चेतावनी दिँदै आएका छन् ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष र एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नेतृत्व पक्षले आफूहरूले राखेको कुनै पनि प्रस्ताव र सुझावको सुनुवाइ नभएपछि अविश्वासको प्रस्ताव राख्ने अवस्था सिर्जना भएको बताए । एन्फा महासचिव राईले रित पु¥याएर अविश्वासको प्रस्ताव ल्याए दर्ता हुने बताएका छन् । ‘उहाँहरूले रित पुर्याएर अविश्वासको प्रस्ताव ल्याए दर्ता हुनेछ,’ उनले भने ।
साधारणसभामा कोरम नै पुगेन
३२ क्लबका पदाधिकारीले आइतबार भएको साधारणसभामा सबै सदस्यहरू भौतिक रूपमा उपस्थित हुनुपर्ने माग राखेका थिए । उनीहरूले एन्फा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई समेत ज्ञापनपत्र बुझाएका थिए । तर, एन्फाले साधारणसभा भौतिक रूपमा नभएर भर्चुअल रूपमा गर्यो । सहिद स्मारक लिगमा आबद्ध ३२ क्लब र जिल्लाको विरोध रहँदारहँदै एन्फाले सातदोबाटोको केन्द्रीय कार्यालयमा आपत्कालीन कार्यसमिति बैठकपछि साधारणसभा आह्वान गर्यो । एन्फाले भर्चुअल रूपमा आयोजना गरेको साधारणसभामा कोरम नै पुगेन ।
एन्फाको विधानमा भर्चुअल साधारणसभा उल्लेख नभएकाले योे अवैधानिक भएको पूर्वअध्यक्ष शेर्पाले बताए । कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्रै उपस्थिति भएपछि साधारणसभा स्थगित भयो । ‘धारा (२८) को (१) बमोजिम गणपूरक संख्या अपुग भएकाले पुनः साधारणसभा सोमबार ११ बजे बस्ने भएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहले बताए । विधानको धारा २८ को ३ ले दोस्रोपटक बसेको बैठकमा गणपूरक संख्याको आवश्यकता नपर्ने उनको भनाइ छ ।
६ असार ०७९ मा भएको चुनावी साधारणसभामा नेम्वाङले अध्यक्षमा कर्माछिरिङ शेर्पालाई पाँच मतले हराएका थिए । नेम्वाङको समूहबाट वरिष्ठ उपाध्यक्षसहित चारमध्ये तीन उपाध्यक्ष निर्वाचित भए । पाँच सूत्रीय एजेन्डासहित अगाडि बढेका नेम्वाङले अप्ठ्यारो रूपमा एक वर्ष कार्यकाल पूरा गरेका छन् । तर, कार्यसमितिमा भएका अन्य सदस्यलाई साथमा लिन नसक्दा उनले अविश्वासको प्रस्ताव सामना गर्नुपरेको छ ।