
अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा आफूभन्दा माथिल्लो वरीयतामा रहेको म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।
यंगोनस्थित थुवुन्ना रंगशालामा आज भएको मैत्रीपूर्ण म्याचमा नेपालले ५८औँ मिनेटमा म्यानमारविरुद्ध पेनाल्टीको अवसर पाएको थियो । तर, नेपाल गोल गर्न चुक्यो ।
अञ्जनको पेनाल्टी प्रहारको क्रममा म्यानमारका गोलकिपर जिन फ्यो गलत दिशातर्फ डाइभ लगाएका थिए । तर, उनको खुट्टाले अञ्जनको बल रोक्न पुग्यो । यससँगै नेपाल आफूभन्दा माथिल्लो वरीयतामा रहेको म्यानमारविरुद्ध जित निकाल्न असफल रह्यो भने अञ्जन नेपालको तर्फबाट सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्ने अवसरबाट बन्चित रहे ।
पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले हातले बल छुँदा नेपालले पेनाल्टी प्रहारको मौका पाएको थियो । फिफाको पछिल्लो वरीयतामा म्यानमार १६०औँ वरीयतामा छ भने नेपाल १७५औँ स्थानमा छ । यसअघि म्यानमारसँग खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।