
गत ६ पुसमा संसदीय दलको निर्वाचनपछि गत आइतबार कांग्रेस इतर समूहको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी भए । दलको निर्वाचनपछि इतर समूहका भेला र छलफलमा देखानपरेका महामन्त्री शर्मा र पौडेल पहिलोपटक शेखर–गगन समूहका नेतासँग देखिए ।
नेता अर्जुननरसिंह केसीको बुढानीलकण्ठस्थित निवासमा महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्र बडूसहित सहभागी थिए । इतर समूहले विश्व र प्रदीपसहित महाधवेशनकेन्द्रित ‘टिम बिल्डिङ’ को प्रयास गरिरहेको छ । त्यसकै निरन्तरतास्वरूप आइतबार छलफल भएको हो । ‘१५औँ महाधिवेशनकेन्द्रित टिम बिल्डिङको गृहकार्य सुरु भएको छ । त्यसमा विश्व र प्रदीपसहित समावेश गराउने तयारी भएको छ,’ बैठकमा सहभागी एक पदाधिकारीले भने ।
प्रदीप पौडेल, नेता नेपाली कांग्रेस
पार्टीमा संस्थापन र इतर छिन्नभिन्न अवस्थामा छन् । पार्टीमा यत्रा बेतिथि छन्, भ्रष्टाचारका कुरा छन् । सरकारमा रहेर पनि आलोचना खेपिरहनुपरेको छ । परिणाम दिन सकिएको छैन । विधिविपरीत पार्टी कब्जा गर्न खोज्नेहरू नै पार्टीमा सफल भइरहेको अवस्था छ । अबको महाधिवेशनकेन्द्रितभन्दा पनि आन्तरिक रूपमा पार्टी रूपान्तरण र पार्टीभित्रका बेतिथिविरुद्ध एकजुट हुन चाहेको सन्देश हो ।
सहमहामन्त्री परियारले पार्टी रूपान्तरणको अभियानस्वरूप छलफल भइरहेको बताए । उनले पार्टी र मुलुकको विषयमा संस्थापन मौन रहँदा इतर सक्रिय बन्नुपर्ने अवस्था आएको जिकिर गरे । ‘मुलुक अप्ठ्यारो अवस्थामा छ । सबै जडको निकास दिने कांग्रेसले नै हो । पार्टीमा समस्या, राष्ट्रियता र लोकतन्त्रमा खतराको महसुस भएको अवस्था देखिन्छ । यस्तो अवस्थामा संस्थापन चुप लागेर बस्दैमा हामी पनि त्यसरी बस्नुहुँदैन भनेर छलफल अगाडि बढाइरहेका छौँ । हाम्रा छलफल एजेन्डाकेन्द्रित छन् । यो अभियानमा एजेन्डाकै आधारमा अरूलाई जोड्दै जाने हाम्रो प्रयास हो । छलफल निरन्तर छ,’ परियारले भने ।
नेता पौडेलले पार्टींका बेतिथिविरुद्ध एक ठाउँमा उभिनेबारे छलफल भएको बताए । आगामी महाधिवेशनका लागि नभई पार्टीमा सुधारका लागि एक ठाउँमा आउनु आवश्यक रहेको र यो सन्देश भेलाले दिएको उनको भनाइ छ । ‘पार्टीमा संस्थापन र इतर छिन्नभिन्न अवस्थामा छन् । पार्टीमा यत्रा बेतिथि छन्, भ्रष्टाचारका कुरा छन् । सरकारमा रहेर पनि आलोचना खेपिरहनुपरेको छ । परिणाम दिन सकिएको छैन । विधिविपरीत पार्टी कब्जा गर्न खोज्नेहरू नै पार्टीमा सफल भइरहेको अवस्था छ । अबको महाधिवेशन केन्द्रितभन्दा पनि आन्तरिक रूपमा पार्टी रूपान्तरण र पार्टीभित्रका बेतिथिविरुद्ध एकजुट हुन चाहेको सन्देश हो,’ पौडेलले भने ।
इतर समूहले भ्रातृसंस्था, संसदीय दल र पार्टीमा आफ्नो समूहको भूमिकालाई बेवास्ता गरेको निष्कर्ष निकालेको छ । नेताहरूका अनुसार भेलामा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामको समीक्षा, कांग्रेसको रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो । नेता डा. शेखर कोइराला भने सहभागी थिएनन् । अबको चरणमा भने कोइरालासहितको छलफल गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । गत १० साउनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकढिक्का रहेको सन्देश दिएको संस्थापनले दाबी गरिरहँदा संसदीय दलमा महामन्त्री थापाको पक्षमा उभिएका युवा नेतासहित इतर समूहका नेताहरू एकै ठाउँमा देखिनुले कांग्रेसमा स्पष्ट धु्रवीकरणको संकेत गरेको नेताहरू बताउँछन् ।
केन्द्रीय समिति बैठकअघि कोइरालाले महामन्त्री थापासँग टाढिएको र सभापति शेरबहादुर देउवासँग निकट रहेको आरोप खेपेका थिए । तर, केन्द्रीय समिति बैठकपछिका अभिव्यक्तिमा कोइरालाले आफू देउवासँग नमिलेको बरु आफ्नै समूह बलियो बनाउन लागिपरेको स्पष्टीकरण दिँदै आएका छन् । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले केन्द्रीय समिति बैठकपछि नेता कोइराला र महामन्त्री थापाबीचको सम्बन्धमा सुमधुर देखिएको बताए । ‘पछिल्लो समय उहाँहरू एकदमै सिमेन्टेड हुनुभएको छ । यो इतर र पार्टीका लागि एकदमै खुसीको विषय हो,’ उनले भने ।
केन्द्रीय समिति बैठकपछि शेखर–गगन र सिटौला समूहले सक्रियता बढाउँदै लगेका छन् । भ्रातृसंस्थाका असन्तुष्टि र कार्यक्रममार्फत यी समूह सक्रिय बनेको देखिन्छ । नेविसंघको जम्बो कार्यसमिति घोषणा हुँदा दुवै समूह असन्तुष्ट देखिएका थिए । संसदीय समितिका विषयमा शेखर–गगन समूह असन्तुष्ट देखियो । संसदीय समितिमा चार समितिमध्ये दुई समिति आफूले पाउनुपर्ने शेखर–गगन समूहको माग थियो । तर, सभापति देउवा यसका लागि तयार नभएपछि संसदीय सुनुवाइ समिति (संयुक्त) का लागि नाम सिफारिस भएका सहमहामन्त्री जीवन परियारले अस्वीकार गरेका थिए । १५ भदौसम्ममा १६ विभाग गठन हुँदा तीनवटा मात्रै इतरले पाएको छ । आफ्नो समूहलाई बेवास्ता गरेर पार्टी, संसद् र भ्रातृसंस्थामा बाइपास गरेर लान खोजेको यो समूहको निष्कर्ष छ ।
नेविसंघको समिति घोषणा हुँदा सिटौला समूह पनि संस्थापनसँग असन्तुष्ट बनेको थियो । सिटौला समूहले पछिल्लो समय ‘टक सेन्टर’मार्फत संविधान कार्यान्वयनको बहसको थालनी भन्दै २१ साउनमा आफूनिकट नेताहरू मात्र सहभागी गराएर कार्यक्रम गरेको थियो । जसलाई देशव्यापी कार्यक्रमका रूपमा निरन्तरता दिइरहेको थियो । मंगलबार कांग्रेस बागमती प्रदेश सभाका मुख्य सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिए । संगठनमा समय आवश्यक रहेको भन्दै उनले राजीनामा दिएका हुन् ।