
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमातहतका सबै अस्पतालमा निःशुल्क शय्यादेखि गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई आफ्नो सय दिनको कार्यकालको मुख्य उपलब्धि मानेका छन्।
बुधबार हेटौँडामा आफ्नो एक सय दिनको कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले प्रदेशमातहतका १३ वटा प्रादेशिक अस्पतालका आठ सय ११ शय्याहरू निःशुल्क गर्न सक्नु आफ्नो प्रमुख उपलब्धि भएका बताए।
मन्त्री जोशीले मन्त्रिस्तरीय निर्णयबाट अस्पतालका आइसियू, एनआइसियू र क्याबिनबाहेकका आठ सय ११ शय्यालाई भदौ १ गतेदेखि निःशुल्क भएको जानकारी दिए। यस्तै, मन्त्री जोशीकै पहलमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषबाट स्वीकृत गराई प्रदेशमा लागू भएको छ।
मन्त्री जोशीले गत जेठ ७ गते प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेसँगै प्रदेशभित्र रहेका लोपोन्मुख तथा सीमान्तकृत जातिहरू, आश्रममा आश्रितहरूलाई निःशुल्क स्वास्थ्य बिमा, विपन्न असहाय, बेवारिसे बिरामीका लागि अस्पतालको कुल शय्याको १० प्रतिशत शय्याको व्यवस्था, अस्पतालहरूबाट फिजियोथेरापी र साइकोथेरापी सेवा निःशुल्क व्यवस्था गरेको जानकारी दिए।
यस्तै, उनले चालू आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत ११ करोड ५२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए।
मन्त्री जोशीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ६ हजार आठ सय ६५ जना क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रमअन्तर्गत नाै करोड २६ लाख ७३ हजार एक सय रुपैयाँ र हृदयघात भएका बिरामीका लागि उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रमअन्तर्गत सातवटा प्रादेशिक अस्पतालबाट ३४ लाख ७२ हजार ६ सय रुपैयाँ प्रदान गरिएको जानकारी दिए।