१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अनु आचार्य काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोसाइँकुण्डमा तीर्थाटनसँग पदयात्राको मज्जा

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४७:oo

गोसाइँकुण्डको “गो” र “साइँ” शब्दले भिन्दा भिन्दै अर्थ बोक्छन् । “गो” भन्नाले पृथ्वी र “साइँ” भन्नाले मालिक बुझाउँछ । यसरी गोसाइँकुण्ड अर्थात् पृथ्वीको मालिक ।हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो गोसाइँकुण्ड । पौराणिक कथनअनुसार भगवान शिवले कुण्डको सिर्जना गरेका हुन् । आन्तरिक पर्यटक मनोकांक्षा पूरा हुने विश्वासले गोसाइँकुण्ड पुग्छन्् । विदेशी पर्यटक भने पदयात्राका लागि गोसाइँकुण्ड रोज्ने गरेका छन् ।  

कहिले लाग्छ मेला ?
यस वर्ष भदौ ४ गतेदेखि सुरु भएको मेला जनैपूर्णिमाको दिनसम्म चल्नेछ । यस अवधिमा गोसाइँकुण्डमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ हरेक वर्ष जेठ शुक्ल दशमीका दिन पनि भव्य मेला लाग्छ । 

किंवदन्ती 
पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष भगवान् शिवले सेवन गरेका थिए । अनि, त्यो विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगे । गोसाइँ बाबाका रूपमा त्यहाँ पुगेका भगवान शिवले त्रिशूल भित्तामा हिर्काए र गंगा जल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्यही त्रिशूल धाराको पानीबाट गोसाइँकुण्ड बन्यो ।

त्रिशूल हिर्काउँदा आएको पानी निकास भएकाले नदीको नाम पनि त्रिशूली रहन गएको पौराणिक कथन छ । कुण्डमा स्नान गरी गोसाइँ बाबाको दर्शन गर्नाले पितृ तर्ने, चिताएका मनोकांक्षा पूरा हुने तथा जीवनभर गरेको पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । 

प्रकृतिले भरिपूर्ण 
प्राकृतिक रूपमा पनि निकै आकर्षक कुण्डको लम्बाइ ६ सय मिटर र चौडाइ तीन सय ७० मिटर छ । उच्च हिमाली क्षेत्रमा अवस्थित गोसाइँकुण्ड जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । यसको वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब एक सय आठ कुण्ड छन् । यहाँ १४ प्रजातिका गुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराचुरुंगी पनि पाइन्छन् । घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना, बुद्धडाँडा र गणेशगौँडा मनोरम दृश्यका गन्तव्य हुन् । त्यस्तै, कुण्डनजिकै अमरसिंह गुफा र अमरसिंह थापाको चिहान छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक हप्ता छुट्याउनुपर्छ । गोसाइँकुण्ड जानलाई धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । चल्तीको पदमार्ग भने काठमाडौं–धुन्चे–गोसाइँकुण्ड नै हो ।

काठमाडौंबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीबिना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । काठमाडौं–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो हुँदै पनि यहाँ पुग्न सकिन्छ । 

के–के  लैजाने ?
गोसाइँकुण्ड चार हजार तीन सय ८० मिटरको उचाइमा छ । जहाँ लेक लाग्ने सम्भावना प्रबल हुन्छ । लेक लाग्ने तथा पैदल यात्रा धेरै गर्नुपर्ने भएकाले रेनकोट, स्लिपिङ ब्याग, न्यानो कपडा, टोपी, ज्याकेट, पन्जा, ड्राइफुड, चकलेट, लसुन, अदुवा, सातु, थर्मस आदि बोक्नुपर्ने हुन्छ । सिटामोल र अल्टिच्युड सिकनेसका औषधि बोक्न बिर्सिनुहुन्न ।

ad
ad