
सिराहामा नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसर र नेकपा मालेको चौथो महाधिवेशनको ३४ वर्षपछि सिराहाको चुरेफेदको धनगढीमाई नगरपालिका– १४ सर्रे अम्बासमा सचिवालय बैठक बस्न लागेको हो ।
बुधबार बिहान ११ बजे सचिवालय बैठक बस्ने गरी तयारी गरिएको छ । सचिवालय बैठकका लागि नेकपा एमाले अध्यक्ष केपी ओली विराटनगर हुँदै र अन्य नेताहरू जनकपुर हुँदै कार्यक्रमस्थल सर्रेअम्बास आउने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।
नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले सिराहाको सर्रेअम्बासमा कम्युनिस्टहरूको अध्ययन केन्द्र बनाइने बताएका छन् । एमालेले सचिवालय बैठकसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले सर्रेअम्बासमा ०४६ साल भदौ ९–१४ भएको नेकपा मालेको चौथाे अधिवेशन निकै महत्वपूर्ण भएकाले अध्ययन केन्द्रको रूपमा विकास गर्ने र देश–विदेशबाट कम्युनिस्ट आन्दोलनबारे जानकारी लिन खोज्नेहरू आउने दाबी गरेका छन् ।
तत्कालीन नेकपा मालेको चौथो अधिवेशन सर्रेअम्बासमा बसेर महत्वपूर्ण नीति लिएको भन्दै सचिव भट्टराईले सर्रेअम्बास कम्युनिस्ट आन्दोलनको हिसाबले ऐतिहासिक स्थल भएको बताएका छन् । यही बैठकबाट कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायती व्यवस्था हटाउन संघर्ष गर्ने निर्णयमा पुगेको, माओ त्से तुङको विचारभन्दा नेपाली अनुकूल बहुदलीय व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको र महासचिवमा मदन भण्डारीलाई सर्वसम्मत चयन गरेकाले सर्रेअम्बास ऐतिहासिक स्थल भएकाले सचिवालय बैठक गर्न लागेको सचिव भट्टराईले बताएका छन् ।
मदन भण्डारीले लिएको जनताको बहुदलीय जनवाद (जबज)को आधार पनि यही बैठकले तय गरेको भन्दै सचिव भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन विकसित भएको विषयको स्थलको रूपमा सर्रे अम्बासको ऐतिहासिक महत्व रहेकाले कम्युनिस्ट अध्ययन केन्द्र बनाउन विकास गरिने बताएका छन् ।
मदन भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना
सचिव भट्टराईले मदन भण्डारीको सामान्य दुर्घटना नभएर षड्यन्त्रमूलक दुर्घटना भएको बताएका छन् । ‘आज पनि विश्वास छ– मदन भण्डारीको गाडीको सामान्य दुर्घटना होइन,’ सचिव भट्टराईले भने, ’एमालेले यी विषयलाई त्यत्तिकै छाडदैन् । समय लाग्न सक्छ ।’
सचिवालय बैठकमा अध्यक्ष ओलीसहित सचिवालयका सदस्यहरू र आयोगका प्रमुखहरू सहभागी रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।