मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
रासस मलेखु
२०८० भदौ ११ सोमबार १३:२७:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक पर्यटकको रोजाइमा नरसिंहधाम

Read Time : > 3 मिनेट
रासस, मलेखु
२०८० भदौ ११ सोमबार १३:२७:००

एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती। यही दुई नदीको संगममा छ नरसिंहधाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्।

गोरखा र धादिङको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ। यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ।

अघिल्ला वर्षहरूमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै १० लाखभन्दा बढी भक्तजनले नरसिंहधामको दर्शन गरेका छन् । नरसिंहधाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्छन्, ‘साउन महिनाको सुरुवातदेखि एकमहिने विशेष मेला आयोजना गरियो। त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले।’

हिजोआज दैनिक सयौँ भक्तजन धाममा पुग्छन्। बिदाको दिन त सानाठूला गरी दुई सय सवारी त्यहाँ पुग्ने गरेको उनको भनाइ छ।धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन्। धेरै भिड भएको दिन चार लाख रुपैयाँसम्म भेटी संकलन भएको अध्यक्ष छत्कुलीले बताए। उनका अनुसार त्यही भेटीबाट केही खर्च छुट्याएर धाममा पुग्ने भक्तजनलाई प्रसादीको रूपमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ।

यस धामको ०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो । शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गरे। ०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छविकालीन सिक्का पैसा, इँटाका मूर्तिलगायत भग्नावशेष फेला पर्‍याे । त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । ०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन गर्दा प्राचीन ढुंगा, इँटा र सिक्काहरू भेटिएको थियो । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुंगाको डाँडोजस्तो छ । तर, यस ठाउँमा भने सात–आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन् ।

०७६ देखि रु. २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरूको लगानी रहेको छ । भक्तजनबाट संकलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरुकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ ।

यहाँ गुरुकुल पनि सञ्चालन भइरहेको छ । यसका लागि शिक्षा मन्त्रालयले दुईवटा विद्यालय भवन बनाउन सहयोग गरेको छ । गुरुकुलमा हाल ५० भन्दा बढी विद्यार्थी छन् । भक्त प्रह्लादले ज्ञान प्राप्त गरेका स्थल भएकाले यो स्थान गुरुकुल सञ्चालनको निम्ति अत्यन्त महत्वपूर्ण रहनेको पुरोहित गणेश लोहनी बताउँछन्। भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम नारसिंहे रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ। नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ।

नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनुभएको स्थल पनि यही हो भनिएको छ । विभिन्न पुस्तकहरूमा लेखिएअनुसार यस स्थानलाई श्वेतबराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिनुभएको स्थल भनी उल्लेख गरिएको छ।

अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरुकुल भवन, चार सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सयजनालाई राख्न सकिने अतिथि आवास गृह, ४० वटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरूको निर्माण सम्पन्न भइसकेको छ। हाल श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ।

पुरातत्वविद्ले खोज–अनुसन्धानमा यहाँ लिच्छविकालीन बस्ती भएको अनुमान गरिएको छ । अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ। शास्त्रीय हिसाबले यी दुई नदी बुढीगण्डकी र नेत्रावतीलाई नारसिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ।

स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेँसी जाने पुल बन्नुभन्दा पहिला मानिस गण्डकी नदी पार गर्न जँगार तर्नुपर्दा यहाँ तल आउनुपर्ने बाध्यता थियो। त्यतिखेरसम्म यहाँ पूजाआजा हुने गर्दथ्यो। त्यतिवेला यहाँ मन्दिर थिएन। तर, यहाँ नरसिंह देवता छन् भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन थियो भन्ने कथन छ।

त्यतिवेला कतिपय मानिसले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई इँटको डाँडो भन्ने गरेको किंवदन्ती छ। पछिल्लो समय मन्दिर निर्माणको निम्ति उत्खनन गर्दा पनि ०३५ सालभन्दा अगाडिका झन्डै दुई पाथीजति सिक्का भेटिएको थियो। नरसिंहधाम पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बनिसकेको छ। साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ। विभिन्न सामाजिक सञ्जालहरूमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ।

धादिङ र गोरखाका स्थानीय सरकारहरूले पनि धामको प्रचार र यस क्षेत्रको पर्यटनको विकासमा राम्रै सहयोग गरिरहेको छ । नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमुना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए। यो वर्ष बाटो स्तरोन्नति गराएर सानाठूला सबै सवारीलाई सजिलै धामसम्म पुर्‍याउने योजना रहेको उनको भनाइ छ ।

हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको समितिका अध्यक्ष छत्कुलीको भनाइ छ । ताल बनेपछि मन्दिरसम्म ढुंगामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी मन्दिरको संरचना निर्माण भइरहेको उनले जानकारी दिए।

धादिङको सदरमुकाम धादिङबेँसीबाट मुरलीभञ्ज्याङ, ज्यामिरेबजार हुँदै टारीबेँसी पुगिन्छ । त्यसपछि देशकै चर्चित टार सल्यानटार उक्लिएर नरसिंह धामको ओरालो झर्नुपर्छ । धादिङबेँसीबाट सल्यानटारको बसको यात्रा करिब एक घन्टा ४५ मिनेको हो । धादिङबेँसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्यांकी भन्ने ठाउँसम्म पुर्‍याउँछ । त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंहधाम परिसर पुग्न सकिन्छ ।