
मकवानपुर प्रहरीले अपहरणमा परेको नाटक गर्ने एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। एक सातादेखि हराइरहेका जिल्लाको राक्सिराङ गाउँपालिका–५ का ४६ वर्षीय कुमार प्रजालाई प्रहरीले पक्राउ गरेको हो।
उलने आफू अपहरणमा परेको नाटक गरेर आफ्नी श्रीमतीलाई फोन गरेका थिए। प्रहरीले उनलाई लुकीछिपी बसेको अवस्थामा जिल्लाकै मनहरी गाउँपालिका–४ नयाँबस्तीस्थित सूर्यबहादुर प्रजाको घरबाट पक्राउ गरेको हो।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार प्रजा यही भदौ ३ गतेदेखि आफ्नो परिवारसँग सम्पर्कविहीन थिए। प्रजा र सोही ठाउँ बस्ने निर्मल भन्ने सानुबाबु रुम्बाबीच आर्थिक लेनदेनको विषयमा विवाद भएकाले रुम्बाले उनलाई बेपत्ता पारी अपहरण गरेको हुन सक्ने भन्दै प्रजाकी श्रीमती आइतीमाया चेपाङले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी थिइन्।
इलाका प्रहरी कार्यलय मनहरीले कुमार प्रजाको हुलियाका आधारमा खोजतलास गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरूसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको खुलेपछि घटना अपहरण नभई अपहरणको नाटक भएको पुष्टि भएको प्रवक्ता कार्कीले बताए।
आइतबार प्रजालाई उनी लुकेर बसेको ठाउँबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्कीले जानकारी दिए।