१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
Invalid date format १६:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुआमा रोगले ग्रस्त, आर्थिक अभावमा छोराछोरीको बिचल्ली

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

दैनिक अरूको घरमा काम गरेर गुजारा गर्दै आएका त्रिवेणी नगरपालिका– १ विशाल टोलका तुल ल्वार ६ महिनायता प्यारालाइसिसका कारण घरमै थला परेका छन्। घरमुली नै थला परेपछि तुलका सात छोराछोरी र श्रीमती बिचल्ली अवस्थामा छन्। 

गत वर्ष चैत ५ गते कामको सिलसिलामा भारत जाँदै गर्दा बीचबाटोमै बिरामी भएपछि उनी फर्केका थिए। काम गर्ने मान्छे नै थला परेपछि उनले अहिलेसम्म न प्यारालाइसिसको उपचार गर्न सकेका छन् न सहज रूपमा हातमुख जोर्न सकेका छन्। तुलकी श्रीमती भरू ल्वारका अनुसार आफूहरूसँग भएको एक कट्ठा जग्गा पनि उपचार गर्ने क्रममा सकिइसक्यो। ‘अब त न उपचारका लागि पैसा छ, न गरी खानलाई जग्गाजमिन छ,’ भरू भन्छिन्, ‘श्रीमान् रोगले थला परेपछि सातजना छोराछोरी बिचल्लीमा परेका छन्।

भरू आफैँ पनि पेटको बिरामी छिन्। बाबुआमा दुबै रोगी भएपछि माइली छोरी १८ वर्षीया सवदाकै काँधमा घरको जिम्मेवारी छ। सवदाकी दिदी यसोदाले उमेर नपुग्दै विवाह गरिसकेकी छिन्। भाइबहिनीहरू १६ वर्षीया दुर्गा, १३ वर्षीय तुसार, ९ वर्षीय देवसरा, ७ वर्षीय चन्दन र ५ वर्षीय प्रशान्तलाई सवदाले नै हेरचाह गरिरहेकी छिन्।

‘बुबा र आमाको उपचार गर्न न पैसा छ, न जग्गाजमिन बाँकी छ। केले उपचार गर्नु, केले भाइबहिनीको पालनपोषण गर्नु !’ सवदाले समस्या सुनाइन्। १२ कक्षा पास गरिसकेकी सबदाले इच्छा भएर पनि गरिबीका कारण उच्च शिक्षा लिन सकेकी छैनन्। आर्थिक अभावकै कारण उनका अन्य भाइबहिनी पनि नियमित विद्यालय जान सकिरहेका छैनन्।

त्रिवेणी नगरपालिका नगर कार्यसमिति सदस्य तथा स्थानीय खगेन्द्र नेपालीले तुलबहादुर ६ महिनाअघिदेखि प्यारालाइसिसको कारण घरमै थला परेको बताए। आर्थिक अभावले उनको परिवार र उनी स्वयं पनि बिचल्लीमा परेका भन्दै नेपालीले सहयोगका लागि आग्रह गरिए पनि सरकारी–गैरसरकारी कुनै क्षेत्रबाट पनि सहयोग नआएको सुनाए।