१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ८ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको महाधिवेशन माघमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o९:१५:oo

एकीकृत समाजवादीको महाधिवेशन आगामी १४ देखि १८ माघसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भनेको छ । 

‘हामीले एमालेसँग विद्रोह गरेर पार्टी पुनर्गठन गरेका हौँ । पार्टीका मूल सैद्धान्तिक, राजनीतिक, वैचारिक र संगठनात्मक सबै सीमाहरू क्रस गरेर एमाले चरम दक्षिणपन्थी, अवसरवादी बाटोमा गएको हुनाले त्यो पार्टी अब चल्न सक्दैन । त्यसले अबको नेपालको क्रान्तिको नेतृत्व पनि गर्न सक्दैन । समाजवादको दिशामा पनि जान सक्दैन । र, उसले जस्ता प्रवृत्ति बोकेको छ, त्यसले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन पनि सक्दैन भन्ने निष्कर्षका साथ पार्टीलाई पुनर्गठन गरेका हौँ । पुनर्गठनपछि त्यो पार्टीको स्वामित्व हामीले ग्रहण गरेका छौँ । र हामी दशौँ महाधिवेशन गर्न जाँदै छौँ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने ।

यसकारण दशौँ महाधिवेशन : जगन्नाथ खतिवडा उपमहासचिव

पार्टीका मूल सैद्धान्तिक, राजनीतिक, वैचारिक र संगठनात्मक सबै सीमा क्रस गरेर चरम दक्षिणपन्थी, अवसरवादी बाटोमा गएकाले एमालेले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पुनर्गठन गरेका हौँ । पुनर्गठनपछि त्यो पार्टीको स्वामित्व हामीले ग्रहण गरेका छौँ । त्यसैले दशौँ महाधिवेशन गर्न जाँदै छौँ ।

महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडाले जानकारी दिए । बैठकले महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा सदस्यको जिम्मेवारी हेरफेर गर्ने अधिकार सचिवालयलाई दिएको छ । ‘ठूला राजनीतिक र सामाजिक पहलकदमीमा युवा समुदायको भूमिका सधैँभर स्थापित छ । पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ,’ खतिवडाले भने । 

उनले एमसिसी सम्झौता कार्यान्वयन अवस्थाको अनुगमन गर्न र पार्टीका तर्फबाट जनतालाई सुसूचित गर्न अनुगमन समिति बनाउने निर्णय पनि गरिएको जानकारी दिए । बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित सर्वसम्मत पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालले पार्टीको विचारलाई समृद्ध बनाउन सुझाव दिएको खतिवडाले बताए ।

नेतृत्वदायी पार्टी बनाउने
एकीकृत समाजवादीलाई नेतृत्वदायी पार्टी बनाउने निर्णय बैठकले गरेको छ । ‘आगामी ०८३ मा हुने स्थानीय तह निर्वाचनमा लड्ने र बहुसंख्यक तहमा बहुमत ल्याउन सक्ने गरी पार्टी निर्माण गरेर मात्रै यो अभियान पूरा गर्न सकिनेछ,’ बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव खतिवडाले भने, ‘राजनीतिक र सांगठनिक प्रयास आगामी निर्वाचनका लागि केन्द्रित हुनेछन् । 

एकीकृत समाजवादीका मुद्दा राष्ट्रलाई सुनाउन आगामी असोजमा मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले तय गर्ने खतिवडाले जानकारी दिए । कार्यक्षेत्र विभाजन गर्दा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय पनि बैठकले गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडामा कमिटी गठन गर्न र सबै कमिटीलाई सदस्यता वितरण गर्न पनि बैठकले आह्वान गरेको छ । सबै जनसंगठनले पार्टीको राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन तथा प्रचारको योजना बनाई कार्यान्वयन सुरु गर्न पनि बैठकले निर्देशन दिएको छ ।