मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
एजेन्सी मियामी
२०८० भदौ ८ शुक्रबार ०६:३४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी अर्काे उपाधिनजिक

Read Time : > 1 मिनेट
एजेन्सी, मियामी
२०८० भदौ ८ शुक्रबार ०६:३४:००

इन्टर मियामीले २–० ले पछि परेको नतिजा उल्टाउँदै युएस ओपन फुटबल प्रतियोगिताको फाइनल स्थान सुरक्षित गरेको छ । युएस ओपनको बिहीबार बिहान भएको सेमिफाइनलमा इन्टर मियामी सिन्सिनाटीसँग २–० ले पछि परेको थियो । कप्तान लियोनल मेसीले दुई गोलका लागि असिस्ट र प्रेणादायी खेल प्रस्तुत गर्दा मियामीले फाइनल स्थान पक्का गरेको हो । खेलमा मियामी पेनाल्टी सुटआउटमा ५–४ ले विजयी भयो । एक साताको अन्तरमा मियामी दोस्रोपटक उपाधिनजिक पुगेको हो । 

गत साता मियामीले लिग्स कपको उपाधि जितेको थियो । अब मियामीले २७ सेप्टेम्बरमा हाउसटन एफसीसँग प्रतिस्पर्धा गर्नेछ । हाउसटनले दोस्रो सेमिफाइनलमा रियल साल्ट लेकलाई ३–१ ले हराउँदै मियामीसँगको भेट पक्का गरेको हो । निर्धारित र अतिरिक्त समयमा मियामी र सिन्सिनाटी ३–३ को बराबरीमा थिए । त्यसपछि खेल टाइब्रेकरमा गयो । जसमा मियामीका गोलरक्षक ड्राक क्यालेन्डरले सिन्सिनाटीका निक हागलुन्डको प्रहार बचाउँदै जित दिलाएका थिए । 

पेनाल्टीमा मियामीका लागि मेसीसँगै फाकुन्डो फरियास, डेबिड रुइज, जोसेफ मार्टिनेज र बेन्जामिन क्रामास्चीले गोल गरेका थिए । गत महिना मियामीमा आबद्ध भएका मेसी पहिलोपटक गोलविहीन भएका छन् । यसै सिजन मेसीसँगै बार्सिलोनाका पूर्वसहकर्मी जोर्डी अल्बा र सर्जियो बुस्क्वेट इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको मियामीमा अनुबन्धित भएका थिए । 

बार्सिलोनाकै पूर्वप्रशिक्षक जेरार्डाे मार्टिनोको प्रशिक्षणमा मियामी लगातार आठौँ‌ खेलसम्म अपराजित छ । सात खेलसम्म लगातार गोल गरेका मेसी आठौँ खेलमा गोलविहीन भए । अमेरिकाको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता नै युएस ओपन कप हो । सन् १९१३ मा यो फुटबल प्रतियोगिता स्थापना भएको थियो । 

मेसीले मियामीको हार टारे
मेसी चम्किएपछि दोस्रो हाफमा मेजर सकर लिगको शीर्ष टोली सिन्सिनाटीको खेलमा केही चलेन । खेलको १८औँ मिनेटमा लुसिआनो अकोस्टाले सिन्सिनाटीलाई १–० को अग्रता दिलाए । खेलको ५३औँ मिनेटमा ब्रान्डन बास्क्वेजले २–० ले अघि राखे । खेलको ६८औँ मिनेटमा मेसीको फ्रिकिक पासमा लियोनार्दाे काम्पानाले मियामीलाई २–१ को गोलअन्तरमा झारे । इन्जुरी समयको नवौँ मिनेटमा काम्पानाले २–२ को बराबरी गरेका हुन् । ३० मिनेटको खेल सुरु भएको तेस्रो मिनेटमै मियामीले ३–२ को अग्रता बनायो । क्रेमास्चीको पासमा मार्टिनेज गोल गरे । एक सय १४औँ मिनेटमा जापानिज अन्तर्राष्ट्रिय खेलाडी युया कुबोले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।