
पाकिस्तानको खैबरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुइनमा अड्किएका दुईजना वयस्कसहित ६ जना बालबालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ ।
पाकिस्तानी सेनाका कमान्डोले उनीहरूको उद्धार गरेका हुन् । एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकोप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई दृष्टिगत गरी कमान्डो प्रयोग गरिएका थिए । सेनाले अति जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेकामा कामचलाउ सरकारका प्रधानमन्त्री अन्वर उल अक ककारले सैनिक अधिकृतप्रति बधाई ज्ञापन नै गरे ।
तुइनको एउटा डोरी चुँडिएर अर्को डोरीको भरमा आकाशमा नै आठजना अड्किएको खबर स्थानीय सञ्चारमाध्यमले बिहान सात बजेदेखि प्रकाशन–प्रसारण गरेका थिए । त्यसपछि घर, पसल, चमेनागृह, मल, कार्यालय सबैतिर उनीहरूको उद्धार कहिले र कसरी हुन्छ भन्ने जिज्ञासाका साथ देशभर चासो छाएको थियो ।