
अन्नपूर्ण गाउँपालिका– ३ सुवाका पहिरोपीडितलाई अल्पकालीन राहत वितरण गरिएको छ । पहिरोका कारण विस्थापित २० परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति, म्याग्दीले एक लाख १० हजार नगद वितरण गरेको हो । पहिरोबाट घर भत्किएका सतवीर पाइजालाई १५ हजार र अन्य १९ परिवारलाई जनही पाँच–पाँच हजारका दरले राहत वितरण गरिएको छ ।
दानामा गएको पहिरोको निरीक्षण गर्न पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उक्त राहत रकम वितरण गरेका हुन् । मन्त्री जुग्जालीसहित संविधानसभा सदस्य गोविन्द पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतको उपस्थिति थियो ।
मन्त्री जुग्जालीले तत्काल पहिरोको क्षति न्यूनीकरण, सुरक्षित बसोवासको व्यवस्था गर्नुका साथै दीर्घकालीन रूपमा प्राविधिक टोलीबाट अध्ययन गरी बस्ती स्थानान्तरण, एकीकृत बस्ती निर्माण र पुनर्निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । ३२ साउनमा आएको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवागाउँका २० परिवारको उठीवास लगाएको छ । पहिरोले एक घर भत्किनुका साथै नौ घर उच्च जोखिम र १० घर जोखिममा परेका छन् ।
दानाको सुवासँगै पुलीबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतमा समेत पहिरोको जोखिम बढेको छ । जोखिममा रहेका सुवावासीलाई गाउँपालिका र जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा दानास्थित वडा कार्यालयको सभाहलमा खाने–बस्ने व्यवस्था मिलाएको दानाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोवासको पूर्वाधार निर्माण गरेका छन् । ५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।