
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन हुने भएको छ। सिआइबीले अनुसन्धान सकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन शीर्ष दलहरू सहमत भएका हुन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान सकेपछि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बन्ने जानकारी दिए।
बैठकमा अनुसन्धान ब्युरोलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न दिने सहमति भएको पनि उनले बताए। ब्युरोले नै अभियोजन गर्ने बैठकमा सहमति भएको छ। उच्चस्तरीय छानबिन समिति बनेको दिनबाट नै कार्यान्वयनमा जाने लेखकले बताए।