मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Wednesday, 02 September, 2026
२o८o भदौ ६ बुधबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बिओके क्यापिटल मर्ज

ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १२:१६:oo

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डु लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेड एक–आपसमा मर्ज भई कारोबार सुरु गरेका छन् । मर्जरपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रूपमा सुरुवात 
गरिएको हो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एकीकृत कारोबारको औपचारिक उद्घाटन गरेको जनाइएको छ । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताका रूपमा कार्य गर्दा संस्थागत दायित्वसमेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेकोतर्फ जोड दिनुपर्ने बताए ।

बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्नुपर्ने उनको भनाइ थियो । साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिकासमेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको अध्यक्ष हमालले बताए । बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउनुपर्नेमा उनले जोड दिए ।  

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीका रूपमा स्थापित भएकोमा सोहीअनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए । नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ढकालले ध्यानाकर्षणसमेत गराए ।

ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको जनाइएको छ ।