मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ५ मंगलबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुनुहुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ५ मंगलबार १६:४१:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुनु नहुने बताएका छन्। नेपालमा अहिले फर्मासिस्टको संख्याभन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै उनले फर्मासिस्टविना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको उनको भनाइ छ।

औषधि व्यवस्था विभागले युएसएआइडीको सहकार्यमा फर्मासिस्ट, सहायक फर्मासिस्ट व्यवसायीहरूका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्धि तालिमको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

उनले भने, ‘यसरी फर्मासिस्टविनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो। यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौँ।’ केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरूको अनुगमनका क्रममा धेरैजसो फार्मेसी फर्मासिस्टविनै चलिरहेको पाइएको, अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउँदै मन्त्री बस्नेतले औषधिजस्तो संवेदनशील चिजको बिक्री–वितरणमा बदमासी गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्न पछि नपर्ने चेतावनी दिए।

औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिस्टहरूले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए। विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरूको अनुगमन गर्न नसकिरहेको बताए।