
संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोवास भएका स्थानमा फैलँदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या एक सय १५ पुगेको छ।
माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५० जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ।
आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छ भने अबको खोज बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन्।
राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको अग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितलाई सान्त्वना दिएका छन्। राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा संघीय सरकारबाट सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरूप पुनर्निर्माण गर्नेछौँ।’
अत्यधिक गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिशाप बनेको छ। दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए।