१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागारमा कैदीको मृत्यु प्रकरण : नियन्त्रणमा लिएर अमानवीय यातना दिँदा मृत्यु भएको निष्कर्ष

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:४o:oo

नियन्त्रणमा रहेका कैदीहरूलाई अमानवीय यातना दिँदा संखुवासभा जिल्ला कारागारमा दुई कैदीको ज्यान गएको स्थलगत अनुगमनको निष्कर्ष छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोसी प्रदेशले बिहीबार विराटनगरमा प्रतिवेदन सार्वजनिक गर्दै नियन्त्रणमा लिएर अमानवीय यातना दिएकाले कैदीहरूको मृत्यु भएको निष्कर्ष निकालेको हो।

इन्सेक कोसी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा विराटनगरका चारजना अधिकारकर्मीले शंखुवासभा घटनाको स्थलगत अनुगमन गरेका थिए। स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा राज्यका निकायहरूले जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्नुको साटो जेलबाट भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएपछि निर्मम यातना दिएर हत्या गरेको उल्लेख गरिएको छ।

नियन्त्रणमा आइसकेका कैदीहरू जेलको बाहिरी पर्खाल तोडेर भाग्न सक्ने अवस्था  नभए पनि उनीहरूलाई पहिले जेलबाहिरै सुरक्षाकर्मी र कैदी नाइकेहरूले मरणासन्न यातना दिएर पछि आन्तरिक प्रशासनलाई जिम्मा लगाएको र मृत्यु भइसकेपछि आरोपबाट जोगिन मात्र उपचारका लागि अस्पताल लगेको प्रतिवेदनमा दाबी गरिएको छ। इन्सेक कोसी प्रदेशका संयोजक थापाले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘नियन्त्रणमा लिएका कैदीहरूलाई राज्यकै निकायले बर्बर यातना दिएर हत्या गर्नु गम्भीर मानव अधिकार उल्लंघन हो।’

प्रतिवेदनअनुसार भाग्न खोजेका कैदीहरूलाई नियन्त्रणमा आइसकेपछि पनि चरम यातना दिनु, समयमा उपचार गर्न नलैजानु, समयमै प्रशासनलाई कैदी जिम्मा नलगाउनु र पीडित परिवारलाई पनि समयमा घटनाबारे जानकारी नगराउनुले संखुवासभा कारागारमा सुरक्षाकर्मी र आन्तरिक प्रशासनका नाइके र भाइनाइकेहरूले गम्भीर गल्ती गरेको औँल्याइएको छ।

प्रतिवेदनमा घटनामा संलग्न सुरक्षाकर्मी र नाइकेहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गराउनुपर्ने, कारागारभित्रको आन्तरिक प्रशासन नियमकानुनयुक्त र मानव अधिकारमैत्री बनाउनुपर्ने, देशभर रहेका करागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राख्न बन्द गर्नुपर्ने र कारागारभित्र हुने आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने सुझाव दिइएको छ। यसैगरी, जधन्य अपराधमा संलग्न भएका कैदीबन्दीहरूलाई खुला जेलमा राख्ने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि अधिकारकर्मीहरूले सुझाव दिएका छन्।

२४ साउन ०८० मा जेलबाट भाग्न खोजेको आरोपमा शंखुवासभा मादी नगरपालिका– ५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका– २ स्थायी घर भई हाल संखुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटार बस्दै आएका २८ वर्षीय आकाश बलामीको यातनाबाट मृत्यु भएको थियो।