मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Monday, 10 August, 2026
२o८o श्रावण ३२ बिहीबार १२:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राक्सिराङमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, जंकफुडलाई पनि निरुत्साहित गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १२:३२:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाले मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने तथा पत्रु खानेकुरालाई निरुत्साहित गर्ने भएको छ।

बुधबार गाउँपालिकाको सदरमुकाम चैनपुरमा बसेको कार्यपालिका बैठकले पालिकाभित्र सार्वजनिक संघसंस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।

शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संघसंस्थाको सय मिटर क्षेत्र वरपर मदिरा र गुट्खालगायत सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उनले चिसो पेयपदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानेकुरा (जंकफुड)लाई पनि निरुत्साहित गर्ने निर्णय गरेको बताए।

‘रैथाने खानेकुरा खान छोडेर तयारी पत्रु खानेकुराको नियमित प्रयोगले मानव स्वास्थ्यमा असर पुग्नुका साथै आर्थिक रूपमा समेत नोक्सानी भएको छ। पत्रु खानेकुराको प्रयोगलाई बिस्तारै निरुत्साहित गर्दै स्थानीय रैथाने खानेकुरालाई प्राथमिकता दिने गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छौँ,’ अध्यक्ष मल्लले भने।

उनले १८ वर्षमुनिका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्न पनि स्थानीय व्यवसायीलाई सचेत गराउने निर्णय भएको जानकारी दिए। अध्यक्ष मल्लले मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगले व्यक्तिगत, पारिवारिक  र सामाजिक रूपमा समेत समस्या हुने भएकाले यस्तो निर्णय लिएको बताए। 

यस्तै, राक्सिराङ गाउँपालिकाले नगर प्रहरी नियुक्त गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि स्वीकृत गर्दै पालिकामा नगर प्रहरी नियुक्त गर्ने भएको हो। 

पालिकाका अध्यक्ष मल्लले गाउँपालिकाभित्रको आन्तरिक शान्ति सुरक्षा कायम गर्नका लागि नगर प्रहरी भर्ना गर्न लागिएको जानकारी दिए। उनले हाललाई असइको नेतृत्वमा दुईजना महिलासहित सातजना प्रहरी नियुक्त गर्ने योजना रहेको बताए। 

विपतमा उद्धारका लागि स्वयंसेवक

बाढी, पहिरो र चट्याङलगायतका प्राकृतिक विपतको अति जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले वर्षाको समयमा हुने सम्भावित घटनाको राहत तथा उद्धारका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ।

सम्भावित विपतमा उद्धारका लागि गाउँपालिकाले प्रत्येक वडामा स्वयंसेवक परिचालन गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। 

उनले सम्भावित प्रकोपको घटनामा तत्काल उद्धारका लागि प्रत्येक वडामा ५ देखि १० जना गरी करिब सयजनालाई स्वयंसेवक प्रशिक्षण दिएर परिचालन गरिएको बताए। कुनै पनि विपतको घटना भए तत्काल उद्धारका लागि परिचालन गर्ने गरी स्वयंसेवक परिचालन गरिएको उनको भनाइ छ।

यस्तै, अध्यक्ष मल्लले विपतको घटना भएमा वा जोखिममा परेमा सम्पर्क र समन्वयका लागि गाउँपालिकामा विपत शाखा स्थापना गर्नुका साथै पालिकाको प्रत्येक वडामा उद्धार सामग्री खरिद गरेर तयारी अवस्थामा राखिएको जानकारी दिए।