१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अकल्यान्ड
२o८१ जेठ १ मंगलबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा

Read Time : > 1 मिनेट
अकल्यान्ड
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३६:oo

अन्तिम नौ मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार स्विडेन स्पेनसँग २–१ ले स्तब्ध

स्पेनले उपाधि दाबेदार स्विडेनलाई २–१ ले स्तब्ध पार्दै मंगलबार नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन पहिलोपटक उपाधि भिडन्तमा प्रवेश गरेको हो । पहिलो ६ संस्करणमा स्थान बनाउन नसकेको स्पेन सन् २०१५ देखि विश्वकप खेलिरहेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्पेनलाई ऐतिहासिक फाइनल स्थानमा पुर्‍याउने क्रममा साल्मा पारालुएलो र ओल्गाले एक–एक गोल गरेका थिए । स्विडेनकी रेविकाले एक गोल फर्काइन् । अब स्पेनले बुधबार हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेताविरुद्ध उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ । 

आठ मिनेटको अन्तरमा तीन गोल
खेलको ८०औँ मिनेटसम्म स्विडेन र स्पेनले गोलरहित बराबरी खेलेका थिए । अस्वाभाविक रूपमा स्पेनले स्विडेनमाथि दबाब राखेको थियो । स्पेनले ६३ प्रतिशत र स्विडेनले ३७ प्रतिशत बल पोसेसन बनाएको थियो । स्विडेनविरुद्ध स्पेनले निकै आक्रामक खेल प्रस्तुत गर्‍यो । स्पेनले विपक्षी पोस्टमा १३ पटक गोल प्रयास गर्‍यो । स्विडेनले केवल ६ पटक मात्र पोस्ट चार्ज गरेको थियो । काउन्टर र एट्याकिङ खेल खेले पनि स्पेनले स्विडेनको डिफेन्स तोड्न ८१ मिनेटसम्म प्रतिस्पर्धा गर्‍यो । खेलको ८१औँ मिनेटमा साल्माले स्पेनलाई १–० को अग्रता दिलाइन् । जेनिरफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले छेकेकी थिइन् । रिबाउन्ड भएको बलमा साल्माले सहजै गोल गरिन् । 

स्विडेनले सात मिनेटभित्र नै १–१ को बराबरी गोल फर्काउन सफल भयो । खेलको ८८औँ मिनेटमा रेविकाले स्विडेनलाई बराबरीमा पुर्‍याइन् । उनले लिनाको पासमा गोल गरेकी हुन् । स्विडेनले बराबरी केवल एक मिनेट मात्र कायम गर्‍यो । अर्कोतिर, आकर्षक मुभ र पास खेलेको स्पेनले बराबरी गोलको एक मिनेटभित्र नै २–१ को अग्रता लियो । ओल्गाले खेलको ८९औँ मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाइन् । उनको यही गोलले नै स्पेन पहिलोपटक फाइनलमा पुग्यो । स्विडेन सन् २००३ पछि दोस्रोपटक फाइनल पुग्ने संघारमा थियो । स्विडेन सन् १९९१, २०११ र २०१९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । 

शक्तिशाली बन्दै स्पेन
समूह चरणको विश्लेषण गर्दा स्पेनको प्रदर्शन फितलो थियो । समूहमा स्पेन जापानसँग ४–० ले पराजित भएको थियो । चालू विश्वकपअघिका संस्करणमा स्पेनले केवल सात खेलमा मात्र जित निकालेको थियो । नवौँ संस्करणको महिला विश्वकपको नकआउट चरणमा स्पेनले सुधारिएको प्रदर्शन मात्र गरेन, एक बलियो टोलीका रूपमा प्रस्तुत गर्‍यो ।

इंग्ल्यान्ड र अस्ट्रेलियाको तयारी
बुधबार विश्वकपको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डको सामना गर्नेछ । यी दुवै राष्ट्रको एउटै लक्ष्य पहिलोपटक फाइनल पुग्ने हुनेछ । सिड्नीको घरेलु मैदानमा अस्ट्रेलियन खेलाडीले समर्थकको साथमा इंग्ल्यान्डलाई कडा चुनौती दिने योजना बनाएका छन् । अस्ट्रेलियन प्रशिक्षक टोनीले फ्रान्सविरुद्धको टाइब्रेकरपछि खेलाडीमा आत्मविश्वास जागेको बताए ।  युरोपियन च्याम्पियन इंग्ल्यान्ड लगातार तेस्रोपटक सेमिफाइनल खेल्दै छ । महिला फिफा वरीयताको चौथो स्थानमा रहेको इंग्ल्यान्ड दशौँ स्थानको अस्ट्रेलियालाई हल्का नलिने पक्षमा छ । सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच १–१ को बराबरी भएको थियो । 

ad
ad