१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
राजकुमार हिङमाङ
२o८१ बैशाख १९ बुधबार o७:३९:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जात व्यवस्था उन्मूलनको प्रश्न

राजनीतिक व्यवस्थाको संरचनात्मक चरित्रमा रुपान्तरणविना दलित वा कुनै पनि उत्पीडित वर्ग र समुदायको आधारभूत अवस्था फेरबदल हुन सम्भव छैन

Read Time : > 5 मिनेट
राजकुमार हिङमाङ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३९:oo

नेपालको जात व्यवस्थाविरोधी वा दलित आन्दोलनको आजको अवस्थालाई बुझ्न आन्दोलनभित्रका विभिन्न प्रवृत्तिलाई चिन्नु र बुझ्नु आवश्यक हुन्छ । नेपालको दलित आन्दोनलमा हाल मूलतः चार प्रकारका प्रवृत्ति देखिन्छन् ।भारतको ७० वर्षको इतिहासले व्यावहारिक रूपमै गलत साबित गरिसकेको छ, दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत नै दलितमुक्ति र जातमा आधारित शोषण, उत्पीडन र अत्याचारको अन्त्य सम्भव छैन । जबकि संसद्वादी कम्युनिस्ट वा प्रजातान्त्रिक नामका पार्र्टी र ती पार्र्टीसम्बद्ध दलित संगठनले त्यही विषय अलापिरहेका छन् ।

उनीहरू संविधानले व्यवस्था गरेका एकाध सुधारका व्यवस्था लागू गर्ने र नपुग केही थप व्यवस्था गर्दै जाने नीतिवरपर नै सीमित छन् । त्यति मात्रै होइन, ती पार्र्टीसम्बद्ध दलित संगठन आआफ्नो पार्टीले दलितविरोधी गतिविधि गर्दासमेत सामान्य सडक संघर्षमा आउने आँटसम्म गर्दैनन् । रुकुम हत्याकाण्डदेखि मधेसमा भएका तमाम हत्याकाण्डका सन्दर्भमा उनीहरूको अकर्मण्यताले यही कुरालाई पुष्टि गर्छ । दलितबीच संगठन बनाउने, हिजो आफूले गरेका केही संघर्षका कथा भन्ने, विद्यमान जनविरोधी दलाल पुँजीवादी व्यवस्थालाई विकास गरेरै प्रगति वा समाजवाद आउँछ भनी भ्रम दिने र दलित जनताको भोट बटुलेर सत्तामा पुगी निजी स्वार्थपूर्ति गर्ने कामबाहेक यस पहिलो प्रवृत्तिले महत्वपूर्ण काम गर्न सक्दैन । यो प्रवृत्ति नेपालको जात व्यवस्थाविरुद्ध वा दलित मुक्तिको मुख्य संसदवादी दुश्मन प्रतिक्रियावादी प्रवृत्ति हो, जसविरुद्ध आमदलितले संघर्ष गर्नु अनिवार्य छ ।

दोस्रो, धर्म परिवर्तनवाला अम्बेडकरको दुहाई दिने प्रवृत्ति पनि केही समययता नेपालको दलित आन्दोलनमा देखापरेको छ । यो स्वाभाविक हो, किनभने राजनीतिक व्यवस्थाचाहिँ दलितविरोधी नै भइरहे पनि वास्ता नगर्ने यसको राजनीतिक दृष्टिकोणका कारण दलितमुक्तिका निम्ति धर्म परिवर्तनजस्ता अन्य विषयतिर दलितको ध्यान गइरहेको छ । यस प्रवृत्तिले राजनीतिक पार्र्टी वा राज्य व्यवस्था जुनसुकै होस्, तर दलितमुक्तिचाहिँ चाहियो भन्ने वकालत गर्छ । जबकि, राजनीतिक व्यवस्थाको संरचनात्मक चरित्रमा रुपान्तरणविना दलित वा कुनै पनि उत्पीडित वर्ग र समुदायको आधारभूत अवस्था फेरबदल हुन सम्भव छैन ।

दलित समुदायको संख्यात्मक आकार समाजको चौथाइ अंश भएकाले यसको मुक्तिका निम्ति उत्थानको अवधारणा लागू हुन सक्दैन, बरु यो वर्ग वा समुदायका निम्ति आवश्यकतानुसार राज्य व्यवस्थाकै नयाँ ढाँचा तयार पार्नुपर्छ
 

भारत र नेपालमा यस्ता पार्टी उनीहरूले आदर्श बनाइरहेका विद्यमान जनविरोधी दलाल पुँजीवादी संसदीय व्यवस्थालाई निरन्तर टिकाउन चाहन्छन् र आमसमाज परिवर्तनका निम्ति कुनै ठोस योजना अघि सार्दैनन् । उल्टै उनीहरूकै सेवा गरिरहेका छन् । त्यति मात्रै होइन, सांसद‌ चुनिएपछि हतारहतार जसलाई ब्राह्मणवादी पार्टी भन्छन्, तिनैसँग साँठगाँठ गरेर जतिवटा पाइन्छ, मन्त्री खान केन्द्रित हुन्छन् । ती पार्र्टीले अम्बेडकरको दुहाई त दिन्छन्, तर अम्बेडकरले आफ्नो वैचारिक सीमाका बाबजुद कष्टपूर्ण ढंगले दलितका पक्षमा लडेको जीवनशैलीलाई भने आफ्नो जीवनशैली कहिल्यै बनाउँदैनन् । यथार्थमा भन्ने हो भने अम्बेडकरको दुहाई दिने, तर राजनीति र जीवनचाहिँ ब्राह्मणवादी पुँजीवादीको जस्तै अँगाल्ने यस दोस्रो प्रवृत्तिले अम्बेडकरको वास्तविक योगदानको समेत अपमान गरिरहेको छ ।

अम्बेडकरले जात व्यवस्थाविरोधी वैचारिकी निर्माण गर्न जति योगदान गरेका छन्, त्यसका पनि सीमा छन् । यो जात व्यवस्था उन्मूलनको बाटो बन्न सक्दैन, तर उनको योगदान र व्यक्तित्वको वास्तविक रक्षा गर्ने जिम्मेवारी पनि अम्बेडकरकै दुहाइ दिएर, उनको सालिक बनाएर संसदीय फाइदा लुट्नेहरूबाट सम्भव छैन ।

अम्बेडकरले गरेका सकारात्मक योगदानको रक्षा गर्ने काम पनि क्रान्तिकारी दलितले गर्नुपर्ने जिम्मेवारी आएको छ । यो प्रवृत्ति दलितका सन्दर्भमा सुधारवादी देखापरे पनि सारमा यसले दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थालाई नै अन्ततः बलियो बनाउने रणनीतिअन्तर्गत क्रियाशील भएकाले यो प्रवृत्ति पनि दलित आन्दोलनको प्रतिक्रियावादी दुश्मन प्रवृत्ति नै हो । नेपालका संसद्वादी पुँजीवादी ठूला पार्टीहरूले पनि पुरानो नीतिबाट आमदलितलाई भ्रम दिन असफल हुँदै जाँदा यो प्रवृत्ति अर्थात् अम्बेडकरपन्थलाई दलितमुक्तिको ठिक बाटो भनी भविष्यमा अपनाउने सम्भावना छ ।

अम्बेडकरपन्थले धर्म परिवर्तनमा जोड दिने, राज्य व्यवस्था परिवर्तनमा उदासीन रहने र आमदलितलाई आवश्यकताअनुसार आजको युगमा आधारित सशस्त्र संघर्षसँग जोडिन नदिने भएकाले त्यो अन्ततः दलाल पुँजीवादी राज्यका निम्ति फाइदाजनक नै हुन पुग्छ । यस प्रवृत्तिविरुद्ध वैचारिक संघर्ष सबैभन्दा जरुरी छ । अम्बेडकरका सकारात्मक योगदानबाट जात व्यवस्थाविरुद्धको आन्दोलनले आज पनि सिक्नुपर्ने विषय छन्, तिनलाई रक्षा र आत्मसात् गरिनुपर्छ । अम्बेडकरका वैचारिक तथा व्यावहारिक कमजोरीबाट आजको जात व्यवस्थाविरोधी दलितमुक्ति आन्दोलनलाई जोगाउनु त्यत्तिकै जरुरी छ । यस विषयमा आमजात व्यवस्था उन्मूलन गर्न चाहने न्यायप्रेमीबीच बहस छेडेर मात्रै यस प्रवृत्तिको वास्तविकता छर्लंग पार्न सकिन्छ ।

तीन, हिन्दू धर्मलाई सबैले समान रूपमा मान्न पाउने बनाउनासाथ दलितमुक्ति हुन्छ भन्ने भद्दा वकालत गर्ने अर्को एउटा प्रायोजित गलत प्रवृत्ति पनि देखा पर्न थालेको छ । दलितले वेद पढ्न पाएपछि, कोटी होममा सहभागी हुन पाएपछि, मन्दिर प्रवेश गर्न पाएपछि, संस्कृत पढ्न पाएपछि गैरदलितसँग बसेर खाएपछि वा गैरदलितले आफ्नो घरमा आएर खाएपछि दलितमुक्ति भइहाल्ने मापदण्ड यसले बनाउने गरेको छ ।

यो कुनै स्वतन्त्र वैचारिक प्रवृत्ति होइन, बरु हिन्दू धर्म खतरामा पर्न लाग्यो भनेर आतंकित हिन्दूवादीको विकारग्रस्त प्रेरणाले प्रायोजित रूपमा अस्तित्वमा आउन खोजेको प्रवृत्ति हो । अन्य धर्मजस्तै हिन्दू धर्मभित्रका मानवताविरोधी व्यवस्था र संस्कारलाई त्यस धर्मभित्रका सुधारवादी थोरै भए पनि सुधार गर्न चाहन्छन् भने त्यसलाई सबैले सहयोग नै गर्नुपर्छ । तर, जात व्यवस्था र दलित उत्पीडन केवल धर्मले निर्धारण गरेका सांस्कृतिक विषयमा मात्र अडेका छैनन्, बरु तिनका जरा त अर्थव्यवस्था र राजनीतिसँग अनिवार्य रूपमा जोडिएका छन् । त्यसैले, धार्मिक सुधारले मात्रै यो समस्या समाधान हुन सम्भव छैन । त्यसो हुनाले दलित आन्दोलनले धर्म सुधारलाई आफ्नो रणनीति बनाउन मिल्दैन ।

बरु आर्थिक, राजनीतिक–प्रशासनिक र सामाजिक–सांस्कृतिक जगलाई नै रक्षा र निरन्तरता दिने राज्य व्यवस्थाको परिवर्तनलाई नै मुख्य रणनीतिक उद्देश्य बनाउनु अनिवार्य हुन्छ । यो प्रवृत्ति आन्दोलनभित्रको सारमा प्रतिक्रियावादी प्रवृत्ति नै हो, किनभने यसले जात व्यवस्था र दलित उत्पीडनलाई निरन्तरता दिने राज्य व्यवस्थालाई टिकाइराख्न नै मुख्य भूमिका खेल्छ ।

चार, वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि भनी क्रियाशील विभिन्न कम्युनिस्ट पार्टी र तीसँग सम्बद्ध दलित संगठनले विद्यमान पुँजीवादी संसदीय व्यवस्थाका पक्षमा वकालत गर्दै एउटा खास प्रवृत्तिको प्रतिनिधित्व गरिरहेका छन् । राज्य व्यवस्था, वर्ग संघर्षलगायत विषयमा मूलभूत रूपमा ठिक दृष्टिकोण अपनाएको यस प्रवृत्तिले वर्गीय मुक्तिपछि स्वतः जात व्यवस्थाको अन्त्य र दलित मुक्ति हुने दृष्टिकोण बोकेको छ । यो दृष्टिकोण दक्षिण एसियाका माक्र्सवादीले लामो समयदेखि अपनाउँदै आएका छन् ।

वास्तवमा जात व्यवस्था भएको समाजमा मार्क्सवादलाई सिर्जनात्मक रूपमा विकास गर्न रुचि नदेखाउने असफल दृष्टिकोण हो यो । दक्षिण एसियाको कम्युनिस्ट आन्दोलन भारत वा नेपालमा दलितको विशाल जमातमा एकपटक पुगिसकेको थियो । यही दृष्टिकोणका कारण कम्युनिस्ट आन्दोलनले दलितमुक्तिका सन्दर्भमा गुणात्मक सफलता हासिल गर्न नसकेको मात्रै होइन, दलितहरू कम्युनिस्ट आन्दोलनबाट टाढा हुँदै जाने कारण पनि बन्न पुग्यो । जात व्यवस्था भएको समाजमा वर्गको निर्माण जात व्यवस्थाले नै मुख्य रूपमा निर्धारण गर्ने हुनाले जात र वर्ग अन्तरसम्बन्धित रहेका हुन्छन् ।

जात र वर्ग बिल्कुल अलग एवम् असम्बन्धित हुँदैनन् । जात व्यवस्था भएको समाजमा सुरुमा दलित एक विशुद्ध पिँधको श्रमिक वर्ग थियो र आज पनि दलितको बहुसंख्यक हिस्सा समाजको पिँधको सर्वहारा श्रमिक वर्ग नै हो । यो वर्गको संख्यात्मक आकार समाजको चौथाइ अंश भएकाले यसको मुक्तिका निम्ति उत्थानको अवधारणा लागू हुन सक्दैन, बरु यो वर्ग वा समुदायका निम्ति आवश्यकतानुसार राज्य व्यवस्थाकै नयाँ ढाँचा तयार पार्नुपर्ने हुन्छ ।

क्रान्तिका क्रममा र क्रान्ति सम्पन्न भएपछि बनाइने नयाँ व्यवस्था तब नै जात व्यवस्थाविरोधी र दलित मुक्तिका पक्षमा हुन सम्भव छ, जब दलितलाई क्रान्तिको आधारभूत वर्ग वा समुदाय मानेर उनीहरूलाई क्रान्तिको अग्रपंक्तिको नेतृत्व लहरमा ल्याउने राजनीतिक तथा संगठनात्मक दिशा निर्धारण गरिन्छ । यसर्थ, जात व्यवस्था र दलित मुक्तिबारे मार्क्सवादलाई सिर्जनात्मकतामा विकास तथा प्रयोग गर्न नचाहनु यस प्रवृत्तिको मुख्य समस्या हो । जात व्यवस्था र दलितमुक्तिका सन्दर्भमा यो प्रवृत्ति मार्क्सवादी खेमामा देखापरेको जडसूत्रवादी प्रवृत्ति हो । यो प्रवृत्ति क्रान्तिकारी पंक्तिभित्रकै हो । यस प्रवृत्तिसँग मित्रतापूर्वक दलित क्रान्तिकारीले वैचारिक छलफल अघि बढाउनु आवश्यक छ, ताकि जडसूत्रवादी दृष्टिकोणबाट यसलाई मुक्त गर्दै आवश्यकताअनुसारको वैचारिक बुझाइमा ल्याइपुर्‍याउन सम्भव होस् ।


जात व्यवस्थाविरोधी क्रान्तिकारी आन्दोलनको विकास :  नेपालको दलित आन्दोलनमा रहेका गलत प्रवृत्तिसँग संघर्ष गर्दै नयाँ क्रान्तिकारी प्रवृत्तिको विकास गर्नु नै आजको मुख्य आवश्यकता हो । त्यो क्रान्तिकारी प्रवृत्तिका रूपमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल अघि बढेको हो । केवल दलितमुक्तिको होइन, सिंगो जात व्यवस्थाकै उन्मूलनलाई आफ्नो मुख्य लक्ष्य घोषणा गर्न आवश्यक छ । नेपालको जात व्यवस्था उन्मूलन आन्दोलनमा यो निकै ऐतिहासिक महत्वको पहलकदमी हो । यस क्रान्तिकारी प्रवृत्ति बोकेर हाम्रो संगठन ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल ११ फागुन, ०५७ मा गठन भएको हो ।

जात व्यवस्था अन्त्य गर्ने दिशासहित अगाडि बढेको यसले, एक, सबै प्रकारका आदर्शवादी सिद्धान्त, धार्मिक अन्धता र रुढीवादबाट यस प्रवृत्तिले आफूलाई अलग राखी मार्क्सवादी वैज्ञानिक सिद्धान्तका आधारमा जात व्यवस्थाविरुद्धको आन्दोलनलाई अघि बढाउन सक्नुपर्छ । दुई, विद्यमान पुँजीवादी व्यवस्थाभित्रबाट होइन, यस व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यको एक भरपर्दाे अंगका रूपमा यसले जात व्यवस्थाविरोधी आन्दोलनलाई विकास गर्न सक्नुपर्छ । तीन, यस प्रवृत्तिले दलितहरू परिवर्तनका सहयोगी होइनन्, जात व्यवस्था भएको समाजमा उनीहरू परिवर्तनका निम्ति आधारभूत समुदाय हुन् भन्ने विश्लेषणद्वारा आमदलितलाई प्रशिक्षित गर्दै परिवर्तनका निम्ति अग्रदस्ता र नेतृत्व समुदाय बन्न उत्प्रेरित गर्नुपर्छ ।

चार, धर्म परिवर्तन, धार्मिक सुधार, पुँजीवादी व्यवस्थाभित्रै पदको लोभी र कृपामा रुवावासीवरपर घुमिरहेका दलित आन्दोलनका गलत प्रवृत्तिको भ्रमबाट आमदलितलाई मुक्त गरी दलितलाई जात व्यवस्थाविरोधी नयाँ युगको क्रान्तिकारी फौजमा रूपान्तरण गर्न वैचारिक, राजनीतिक र सांस्कृतिक अभियान अघि बढाउन सक्नुपर्छ । पाँच, दलित आन्दोलनका वैचारिक, संगठनात्मक र संघर्षका क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै दलित आन्दोलनलाई नयाँ युगको क्रान्तिकारी जात व्यवस्थाविरोधी आन्दोलनको उचाइमा उठाउन सक्नुपर्छ । नयाँ पुस्ताले साहस गर्‍यो भने दलित आन्दोलनमा यो क्रान्तिकारी प्रवृत्ति नै मूल प्रवृत्तिका रूपमा विकास हुन सम्भव छ । अर्को विकल्प छैन ।
(हिङमाङ जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका निवर्तमान संयोजक हुन्)

ad
ad