
आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौँ वर्ष पूरा गरेको अवसर पारेर सातवटै प्रदेशमा बिहीबार बृहत् स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सातै प्रदेशका विभिन्न १३ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कम्पनीले कोसी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर सञ्चालन गरेको जनाएको छ ।
त्यस्तै, मधेस प्रदेशको बारा, जितपुर र कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरेको जनाइएको छ । बागमती प्रदेशको चापागाउँ स्वास्थ्यचौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर कार्यक्रम गरिएको उल्लेख छ ।
त्यस्तै, गण्डकी प्रदेशको शुक्लागण्डकी– ११ मा जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ । सुदूरपश्चिम प्रदेशको टीकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले छैटौँ स्थापना दिवसको अवसर पारेर साउन १५ मा खिर खाने कार्यक्रम, ललितपुरको आरुष अस्पतालको समन्वयमा जीवनशैली जनित रोगहरूबारे अभिकर्तामाझ जनचेतना कार्यक्रम, धरानमा एक हजार वृक्षरोपण कार्यक्रम, देशैभरि मानव सेवाआश्रम, बालआश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको जानकारी दिए ।