
सत्तारूढ माओवादीले प्रत्येक नेता जनतासँग प्रत्यक्ष जोडिने गरी तीनमहिने रूपान्तरण अभियान चलाउने भएको छ । राजधानीको प्रज्ञा भवनमा आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ नामको तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अभियानसहित जनतामा जाने निष्कर्ष सुनाए । ‘जनतासँग माओवादी र विशेष रूपान्तरण अभियान चलाउने निष्कर्षमा पुगेका छौँ । यसक्रममा पार्टीका सबै लिडर वडाकेन्द्रित भएर जनतासँग जोडिनुहुनेछ र जनताका समस्या समाधान गर्न पहल लिनुहुनेछ । ६ हजार सात सयभन्दा बढी वडामा केन्द्रित भएर तीनमहिने अभियान चलाउने सर्वसम्मत निष्कर्षमा पुगेका छौँ,’ उनले भने । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड पनि सातवटै प्रदेशका सातवटा वडामा खटिने भएका छन् । अभियानअन्तर्गत देशव्यापी रूपमा कुनै पनि घरपरिवार नछुट्ने गरी जनतामाझ जाने प्रचण्डले बताए ।
‘मेरोसमेत कार्यविभाजन भएको छ । म पनि सातवटा प्रदेशका सातवटा वडामा गएर त्यहाँका जनताको भावना, समस्या बुझ्ने र सबै केन्द्रीय लिडर वडाकेन्द्रित भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ,’ प्रचण्डले भने, ‘हामीले यो अभियानअन्तर्गत एउटा पनि जनताको घर नछाड्ने, सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिँदै गरेको पहलबारे सुसूचित गर्ने, जनतालाई आगामी दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई कसरी अगाडि बढाउने भन्नेबारे हाम्रा योजना सुनाउने, जनताका गुनासा, आलोचना सुन्ने तथा सहिद, बेपत्ता, घाइते परिवारसँग भेट्ने काम हुनेछ ।’ पार्टी वैचारिक र राजनीतिक रूपमा मात्रै नभई भावनात्मक रूपमा पनि एक भएको दाबी गर्दै प्रचण्डले विधि, पद्धतिभन्दा बाहिर पार्टी सञ्चालन नगरिने बताए ।
नेताहरूको जिम्मेवारी हेरफेर
केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा, पार्टी एकता, उपाध्यक्ष अग्नि सापकोटालाई प्रचार, उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको इन्चार्जको जिम्मा दिइएको छ । कोसी प्रदेशमा चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमती प्रदेशमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशमा हितमान शाक्य, कर्णाली प्रदेशमा मातृका यादव, सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । वर्षमान पुनलाई उपत्यका विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । गिरिराजमणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश, राम कार्कीलाई प्रवास प्रदेश, गणेश साहलाई विज्ञान प्रविधि र दीनानाथ शर्मालाई बुद्धिजीवी फाँटको जिम्मेवारी दिइएको छ ।
यस्ता छन् माओवादी निर्णय
बैठकले खडेरीका कारण ठूलो भागमा धान रोपाइँ हुन नसकेको भन्दै सुक्खा क्षेत्र घोषणा गरी राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शान्ति प्रक्रियालाई छिटो पूरा गर्न राजनीतिक दलहरू, नेपाल सरकार, संसद्लगायत सम्बन्धित पक्षसँग बैठकले माग गरेको छ । चौतर्फी राजनीतिक अराजकता, निराशा र आर्थिक मन्दीलगायतका कारण बढिरहेको महँगी नियन्त्रण गर्न, जनताको जीवनस्तरलाई सहज बनाउन, राहत र सुविधा प्रदान गर्न, बाढीपहिरोबाट पीडित जनतालाई तत्काल राहत प्याकेज घोषणा गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।
नक्कली भुटानी शरणार्थी, ललितानिवास जग्गा, सुन तस्करीलगायत प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याई सुशासन स्थापनाका लागि सरकारले चलाइरहेको भ्रष्टाचारविरुद्धको अभियानलाई बैठकले समर्थन गरेको छ । यस्तै, भ्रष्टाचार, कालोबजारी, कमिसनतन्त्र आदिबाट अकुल सम्पत्त आर्जन गर्नेविरुद्ध तथा दण्डहीनता र अनियमितता अन्त्यको पक्षमा सरकारले चालेको कदमलाई सफल पार्न दृढ रहने निर्णय पनि बैठकले गरेको छ ।
मंकी स्किन रोग नियन्त्रणका लागि उपचार र भ्याक्सिनको प्रबन्ध गर्न र किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न बैठकले माग गरेको छ । सामान्तवादको अवशेषका रूपमा रहेको सुदखोरीको अन्त्य गर्न सरकारले ल्याएको मिटरब्याजविरोधी ऐनको स्वागत गरेको छ भने वित्तीय संस्थाबाट हुने गरेका चक्रवर्ती ब्याज लिने र शोषण गर्ने कार्यको अन्त्य गर्न माग गरेको छ ।
माओवादी फेरि जाग्नेछ : प्रचण्ड
हाम्रो नेतृत्वको सरकारले राज्यका बेथिति हटाउने, जनतालाई सुशासन र सामाजिक न्याय दिने तथा समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने प्रक्रियाको नेतृत्व गरेको छ । त्यसले जनतामा एउटा नयाँ विश्वास र भरोसा जगाएको छ । हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’अन्तर्गत ६ हजार सात सयभन्दा बढी वडामा सबै लिडर पुग्नेछौँ । तीनमहिने अभियानअन्तर्गत म पनि सातवटा प्रदेशका सातवटा वडामा गएर त्यहाँका जनताको भावना, समस्या बुझ्नेछु । हामी विचार र राजनीतिमा मात्रै होइन, भावनात्मक रूपले पनि एकमत भएका छौँ । माओवादी केन्द्र अब फेरि जाग्नेछ । देशको नेतृत्व लिने गरी माओवादी फेरि अगाडि बढ्नेछ ।