१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Sunday, 11 May, 2025
तोकबहादुर थामी, पहिरोपीडित
टेकराज थामी काठमाडाैं
२o८o श्रावण २१ आइतबार o९:१३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोलखा पहिरोपीडित थामीको गुनासो : पहिरोमा छोरा गुमाएँ, पैसा नहुँदा घाइते बुबाआमा र श्रीमती गुम्ने हो कि भन्ने चिन्ता लागेको छ

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार o९:१३:oo

दोलखा गौरीशंकर गाउँपालिका– ७ मार्बुमा बिहीबार गएको भीषण पहिरोमा दुईजनाले ज्यान गुमाए । दुईजना बेपत्ता र तीनजना घाइते छन् । पहिरोबाट सबैभन्दा बढी पीडित हुनेमा यज्ञ थामीको परिवार छ । ४३ वर्षीय उनीसहित, श्रीमती धनकुमारी र सरिता गम्भीर घाइते छन् । उनले साढे दुई वर्षको नाति पनि गुमाए । घाइतेलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

तर, आर्थिक अभावका कारण बाबु, आमा र श्रीमतीको उपचारमा ढिलाइ हुँदा २३ वर्षीय तोकबहादुर थामी निकै चिन्तामा परेका छन् । कसरी आर्थिक स्रोत जुटाएर उपचार गर्ने भन्ने उनले सोच्न सकेका छैनन् । छोरा गुमाएको पीडा एकातिर छ भने घाइते आमाबाबु र श्रीमतीले समयमै उपचार नपाउने हो कि भन्ने उनले गुनासो गरे ।

अविरल वर्षापछि बिहीबार साँझ ५:३० बजे मार्बुस्थित तोपाटारमा सल्लेभिर खस्यो । भेलसँगै उर्लिएर आएको ढुंगामाटोले थामीको घर थिच्यो । घरमै थिए तोकबहादुरका बाबु यज्ञ थामी र आमा धनकुमारी । पहिरोसँगै उनीहरू पनि घरमै पुरिए । उनकी २४ वर्षीय श्रीमती सरिता साढे दुई वर्षीय छोरा प्रिन्सलाई लिएर मेलाबाट घर फर्कँदै थिइन् । पहिरोले उनीहरूलाई पनि बगायो । शुक्रबार बिहान ८ बजे घटनास्थल पुग्दा बुबा यज्ञ, आमा धनकुमारी र श्रीमती सरिता पहिरोले थिचिएको अवस्थामा भेटिए । छोरा प्रिन्सलाई भने जीवितै फेला पार्न सकेनन् । भएजति सबै सम्पत्ति पहिरोसँगैै बग्यो । 

ट्रमा सेन्टरमा शनिबार भेटिएका उनले भने, ‘घरका सबै पहिरोमा परे । छोरा गुमाएँ । आमाबुबा र श्रीमती गम्भीर घाइते छन् । घाइतेको उपचार गर्ने त के बेलुका खाना खाने पैसासमेत छैन । ऋणधन गरेर साथीभाइबाट दुई लाख रुपैयाँजति जम्मा भएको थियो । सबै रकम केएमसी अस्पतालमा सकियो । तर, चित्तबुझ्दो उपचार भएन । खर्च अभावले छोरासँगै आमाबुबा र श्रीमती पनि गुम्ने हो कि भन्ने चिन्ताले सताएको छ ।’

आम्दानीको गतिलो स्रोत छैन थामीको । जीवन गुजाराका लागि उनी दोलखास्थित सिंगटी बजारमै गाडी चलाउँछन् । तोपाटारमा उनको थोरै जग्गा र एउटा घर थियो । त्यो पनि पहिरोले बगायो । पहिरोमा परी घाइते बुबा यज्ञको खुट्टा काट्नुपर्ने भएको छ । आमा धनकुमारी र श्रीमती सरिताको खुट्टा र शरीरमा गम्भीर चोट छ । उपचारका लागि ठूलो परिमाणमा खर्च जुटाउनुपर्नेछ ।

तर, गतिलो स्रोत नहुँदा उनी यतिवेला चिन्तामा परेका छन् । आँखाबाट आँसु झार्दै उनले भने, ‘बुबाको खुट्टा काट्नुपर्ने भएको छ । आमा र श्रीमतीको शरीरमा गम्भीर चोट छ । तीनैजनाको उपचार गर्न धेरै पैसा लाग्नेछ । आम्दानीको स्रोत छैन । यतिवेला कहाँबाट खर्च जुटाएर घाइते उपचार गर्ने हो । सोच्न सकेको छैन ।’ मार्बु पहिरोपीडित परिवारलाई सरकारले हालसम्म कुनै रकम उपलब्ध गराएको छैन । ‘हालसम्म उपचार गर्न सरकारबाटै कुनै रकम प्राप्त हुनसकेको छैन । घाइतेलाई काठमाडौंसम्म ल्याइदिने कामचाहिँ भएको छ । बरु छरछिमेकबाट संकलन भएको रकम अलिअलि उपलब्ध भएको छ । यो विपत्तिमा सरकारले केही रकम उलब्ध गराए ठूलो राहत हुने थियो,’ थामीले भने ।

सल्लेभिरको पहिरोले गौरीशंकर गाउँपालिका–७ मार्बुका ४७ वर्षीय हरिलाल श्रेष्ठको घर पनि बगायो । हरिलाल अझै बेपत्ता छन् । मार्बुस्थित तोपाटारमै थियो ५५ वर्षीय कृष्ण मगरको घर । उनको घर पनि पहिरोले बगायो । सँगै उनी र उनकी श्रीमती पहिरोमा बगे । बेपत्ता भएका कृष्ण अझै फेला पर्न सकेका छैनन् । उनकी श्रीमतीको मृत शरीर भने फेला परिसकेको छ । दोलखाका पूर्वमन्त्री आनन्द पोखरेलले भीषण पहिरोमा परी घाइते हुनेको उपचारमा सरकारले दुई दिनसम्म पनि बेवास्ता गरेकोमा आपत्ति जनाए ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पहिरोमा परी घाइतेलाई उपचारका लागि काठमाडौं पठाएको र बेपत्ता हुनेहरूको खोजीकार्य जारी रहेको बताए । ‘बिहीबार मार्बुमा भीषण पहिरो गयो । घटनास्थल निक्कै विकट ठाउँमा रहेछ । घाइतेको उद्धार सुरक्षाकर्मी निक्कै मुस्किलले पुगे । घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठायौं । दुईजना अझै बेपत्ता छन्, उनीहरूको खोजी कार्य जारी छ । पीडितलाई राहतका लागि रकम भने उपलब्ध गराइएको छैन,’ उनले भने ।