१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सइको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo

प्रहरीमा जाहेरी दर्ता भएन, ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप

सइ रितेश थापाको कुटाइबाट गम्भीर घाइते भएका भरत शाह अस्पतालमा उपचार गराउँदै

फुटबलका राष्ट्रिय खेलाडी भरत शाह नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रितेश थापाको कुटाइबाट गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीकै कर्मचारी रहेका शाहमाथि यसरी मरणासन्न हुने गरी कुटपिट हुँदा पनि प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । 

खेलाडी शाह नेपाल प्रहरीकै सहायक हवल्दार हुन् । हाल बिएन्डबी अस्पतालमा उपचार गराइरहेका उनका दाइ मनोज शाहले प्रहरी वृत्त मालीगाउँमा कुटपिटमा संलग्नविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । उनले रितेशसहित प्रहरीकै वरिष्ठ सइ अनन्तराज थापाविरुद्ध समेत जाहेरी दिएका छन् । अनन्त र रितेश पनि राष्ट्रिय टिमका पूर्वखेलाडी हुन् । 

घटना गत १० साउनको हो । रितेशले नै भरतलाई भत्केको पुलछेउको झिर रेस्टुरेन्टमा बोलाएका थिए । अनन्तको अस्ट्रेलियाको भिसा लागेको अवसर भनेर सो पार्टी आयोजना गरिएको थियो । दुवैजनाले त्यहाँ बियर पिएका थिए । पछि विवाद भएपछि रितेशले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरमा १८ टाँका लगाएका भरत अहिलेसम्म अस्पतालमै छन् । उनको हातको समेत अप्रेसन गरिएको छ । उनका दाइ मनोजका अनुसार त्यहीँ रहेका अनन्तराज थापाले समेत आक्रमणका लागि उक्साएकाले उनीविरुद्ध समेत जाहेरी दिइएको हो । हत्या नै गर्ने उद्देश्यले आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग मुद्दामा मनोजले जाहेरी दिए पनि दर्ता भएको छैन ।

‘बुधबार महानगरीय प्रहरी वृत्त मालीगाउँ जाँदा भोलि आउन भनियो । बिहीबार लिखित जाहेरी लिएर जाँदा डिएसपीले हवल्दारको जिम्मा लगाउनुभयो । हवल्दारले ‘यो जाहेरी हामी लिँदैनौं, टेकु जानुस्’ भन्नुभयो । टेकु जाँदा एसपीले डिएसपीलाई खटाउनुभयो । टेकुको डिएसपीले मालीगाउँको डिएसपीलाई फोन गर्दा ‘माथिबाट जाहेरी नलिन आदेश छ’ भनेर जवाफ दिनुभयो,’ मनोजले गुनासो गरे, ‘अब शुक्रबार उपत्यका हेर्ने प्रहरी कार्यालय जान्छौँ । भाइलाई रेस्टुरेन्टमा बोलाएर कुटपिट गरिएको छ । शरीरभर ४० भन्दा धेरै टाँका छन् । टाउकोमा मात्र १८ टाँका छन् । अहिले उपचार त प्रहरीले गरिरहेको छ । तर, हामीले न्याय पाउनुपर्छ ।’ 

रितेशलाई निलम्बन गरी यस विषयमा थप छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । प्रहरीले आन्तरिक रूपमा घटनाको छानबिन गरिरहेको छ । दुवैजना प्रहरी कर्मचारी भएकाले छानबिनपछि फौजदारी कारबाहीको विषयमा अघि बढाउन लागिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा निर्णय भइनसकेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । 

एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले घटनाको सिसिटिभी फुटेल ल्याएर अध्ययन गरेको छ । फुटेजमा सुरुमा रितेशले भरतलाई लात्ताले हानेको र त्यसपछि भरत रिसाएको देखिन्छ । पछि उनीहरूबीच विवाद भएको र अनन्तले दुवैजनालाई सम्झाउने प्रयास गरेका छन् । पछि एक्कासि रितेशले बियरको ग्लासले आक्रमण गरेका छन् । सो ग्लास फुटेर अर्काे टेबुलमा बसेकी महिलालाईसमेत लागेको छ । घटनालगत्तै अनन्त निस्किएका छन् ।
 

ad
ad