
नेपालको वैदेशिक रोजगारी गन्तव्य मुलुक युएई र कुवेतमा प्रस्तावित राजदूतहरूले नेपाली श्रमिकको हित र सुरक्षामा काम गर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै दुवै राजदूतले कामदारको सुरक्षा, पारिश्रमिकको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका हुन्।
त्यस्तै, रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव स्वदेश पठाउन र क्षतिपूर्तिका लागि सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए। दूतावासहरूमा नेपाली श्रमिकको सहज पहुँच, गुनासो तत्कालै सम्बोधन गर्ने प्रतिबद्धता उनीहरूको थियो।
युएईका लागि सुनुवाइ समितिबाट अनुमोदन भएका सहसचिव तेजबहादुर क्षेत्रीले समस्यामा परेका श्रमिकको खोज उद्धारलाई पनि प्राथमिकतामा राख्ने बताए। कुवेतका लागि अनुमोदन भएका सहसचिव घनश्याम लम्सालले समस्यामा परेका घरेलु महिला कामदारलाई दूतावासले तत्काल उद्धार गरेर सेल्टरमा राख्ने र नेपाल फर्काउने कार्यमा आफू संवेदनशील रहेको बताए। श्रमिकसँग सम्पर्क बढाउने, सार्वजनिक सुनुवाइ नै गर्ने उनले सुनाए।
सांसदहरूले युएई र कुवेतमा नेपाली श्रमिकले समस्या भोगिरहेको भन्दै समाधानमा केन्द्रित हुन सुझाव दिएका थिए। यसका अवाला दुवै राजदूतले द्विपक्षीय सम्बन्ध विस्तार गर्ने, उच्चस्तरीय भ्रमण गराउने, लगानी भित्र्याउने, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने, आर्थिक सहायता बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, नेपाली श्रमिकलाई उच्च सीपयुक्त बनाएर पठाउनुपर्नेमा उनीहरूको जोड थियो।