देवताको आविष्कार !

२०७६ बैशाख १० मंगलबार ०८:२०:००
रामदेव पाण्डे

हामी गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् । स्वघोषित देवता स्वयं मानिस हुन् भने बनाइएका देवतामा मानिस वा अरू कुनै जीवित या निर्जीव वस्तु पर्छन् । यहाँ लेख्न थालिएको विषय, मानिस भएर पनि स्वघोषितभन्दा बढी अरूले देवता बनाउन लागेको एक सन्दर्भ हो ।

नयाँ आविष्कार गरिन लागेको देवताको हो । जसका आविष्कारक कुनै वेलाका भौतिकवादी चिन्तक र अभियन्ता हुन् भन्नुपर्ने बाध्यता छ । प्रकृति बडो विचित्रको छ । यो एक अपार रहस्य पनि हो । यसका कतिपय विषय जो हिजो रहस्यका रूपमा थिए, ती आज उजागर भइसकेका छन् । कति उजागर हुने क्रममा छन् भने कति बिस्तारै उजागर हुँदै जानेछन् । मानवमस्तिष्कको विकास र यसले गरेको विज्ञानको विकासले ब्रह्माण्ड र प्रकृतिका रहस्य खोतल्दै आएको छ । प्रकृतिका विभिन्न घटना–परिघटनाको रहस्य बुझ्न नसक्दा हिजोका दिनमा भगवान्, ईश्वर या देवताको आविष्कार भएको हो । त्यसको आविष्कारकर्ता भने स्वयं मानव मस्तिष्क हो । त्यसैले त मानिसबाहेक अरू कुनै पनि प्राणीलाई त्यस बारे न जानकारी छ न त आवश्यकता नै ।

 हिजो मानव समाजको चेतना विज्ञानसम्मत नभएको समयमा भगवान्को आविष्कार गरिनु स्वाभाविक लाग्न सक्थ्यो । तर, २१औँ शताब्दीको वैज्ञानिक युगमा नयाँ देवताको आविष्कार गरिनु बडो गज्जबको कृत्य घटिरहेको छ । नेपालमा यस्तै अर्को गज्जब के भइरहेको छ भने, विशिष्ट शारीरिक र सायद मानसिक अवस्था भएका बालक आदित्य दाहाललाई नयाँ देवता बनाउन खोजिएको छ ।

केही मानिस अथवा समूह बुझेर या नबुझेर त्यतातर्फ लाग्नु आश्चर्यजनक होइन । तर, विगतमा देशभर भौतिकवादको पाठ पढाउँदै हिँड्ने व्यक्ति स्वयं सत्ताको शिखरमा पुगेपछि यसमा संलग्न हुनु आफैँमा आश्चर्य र उदेकलाग्दो परिघटना हो । जब विज्ञानले यो संसार स्वनिर्मित हो भनेर प्रमाणित गरिसकेको छ र सत्ता प्रमुखलाई समेत थाहा छ भने उनी यो नाटक मञ्चनका पात्र किन बन्दै छन् ?

उनी कुन स्वार्थपूर्तिका लागि सामन्ती बादशाहले जस्तै दासयुगीन खेल खेलिरहेका छन् ? हुन सक्छ– बालक आदित्यमा एक प्रकारको शारीरिक अपांगता हुँदाहुँदै पनि विशिष्ट मस्तिष्क क्षमता छ । तर, त्यो कति सत्य हो ? समयक्रमले मात्रै बताउनेछ । जहाँसम्म उनको विशिष्ट मस्तिष्क क्षमताको विषय छ, हो प्रकृतिमा करोडमा केही बालबालिका अनौठो क्षमताका जन्मने गर्छन् । त्यसैले आदित्यमा कुनै विशेष क्षमता हुनै सक्दैन भन्ने ठोकुवा गर्नु हतारो हुन्छ । तर, कैयौँपटक कतिपय शिशु अथवा मृत व्यक्तिलाई देखाएर प्रशस्त धन आर्जनको माध्यम बनाउने गरिएको छ । आदित्यको प्रसंग पनि त्यसैको नयाँ कडी हो । किनभने अलौकिकताको सम्बन्ध अर्को लोकसँग छ र अर्को लोक भ्रमबाहेक केही होइन । दास र सामन्ती युगमा कथिएका अलौकिकताका कुरा दोहो-याउने प्रधानमन्त्रीको ‘अलौकिक’ पनि फासफुस हुनेमा शंका गरिरहनुपर्दैन । 

गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ, समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् ।

आदित्यभन्दा पहिले कैयौँ बालबालिकाले आफ्नो विशिष्ट क्षमताबाट दुनियाँलाई चकित पारिसकेका छन् । उनीहरूले दुनियाँलाई जतिसुकै चकित पारे पनि तिनलाई भारतबाहेक कसैले पनि देवत्वकरण गरेनन् । दक्षिण कोरियामा ८ मार्च सन् १९६२ मा जन्मेका बालक किम उङ योङ विछट्टै प्रतिभावान् निस्के । चार महिनामा कुरा गर्न थालेका उनले ३ वर्षको हुँदा भौतिकशास्त्रका कठिनभन्दा कठिन समस्या हल गर्थे । ४ वर्षको उमेरमा ती कोरियन, जर्मन, जापानी र अंग्रेजी भाषामा राम्रै दख्खल राख्थे । ३ वर्षको उमेरमा उनले बेस्ट सेलिङ पुस्तक अंग्रेजी र जर्मन भाषामा प्रकाशित गरे ।

६ वर्षको उमेरमा उनी विश्वविद्यालयको अतिथि प्राध्यापकका रूपमा नियुक्त भइसकेका थिए भने ७ वर्षको उमेरमा किमलाई नासाले बोलायो । आठ वर्षको उमेरमा उनले कोलोराडो स्टेट युनिभर्सिटीबाट विद्यावारिधि पूरा गरे । उनकै जस्तो अद्भूत क्षमता भएकी अस्टे«लियाकी बालिका अएलिटा आन्द्रे हुन्, जो दुई वर्षको उमेरमा विश्वविख्यात चित्रकार बनिन् । नेपालमा जस्तै अन्यत्र कहीँ पनि सरकार प्रमुखबाट यस्ता क्षमता भएका बालबालिकालाई अलौकिक भनी वर्णन गरिएको पाइँदैन ।

बालकको उपचारमा सक्दो प्रयास गर्दै उसको बालअधिकारलाई संरक्षण गर्नुको साटो उसलाई घेरा हालेर कैदी बनाउनु आफैँमा अपराधतुल्य हो । झन् कम्युनिस्ट सरकारको पालामा यस्तो हुनु विडम्बनाबाहेक केही होइन । वैज्ञानिक सोच र चिन्तनभन्दा उल्टो दिशामा अघि बढ्दै गर्दा आममानिसलाई त लाज लागिरहेको छ भने के हिजोका कम्युनिस्टलाई लाज लागेन ? कि प्रेम र युद्धमा जे पनि जायज हुन्छ भनेजस्तै काइते उखान यहाँ पनि फिट गर्न खोजिएको हो ? सरकार प्रमुखको यस्तो कामले अन्धविश्वासलाई राष्ट्रियकरण गर्ने खतरा उत्तिकै टड्कारो छ ।