१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

गजलले गुञ्जियो सौराहा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३७:oo

पर्यटन नगरी सौराहा शनिबार गजलले गुञ्जिएको छ। काव्यकुञ्ज साहित्य प्रतिष्ठान रत्ननगरको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाका २७ गजलकार एउटै मञ्चमा उभिएर गजल सुनाएका हुन्। सिमसिमे झरीको पर्वाह नगरी गैरीबारी रिसोर्ट पुगेका स्रष्टाले विभिन्न भाव र विषयका गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा ६ चरण बनाएर स्रष्टालाई मञ्चमा राखिएको थियो। पहिलो चरणको सुरुवातमा गजलकार सुमन कडरिया प्रस्तुत भए। उनले पहिलो गजलस्वरूप बहरमा लेखिएको गजल सुनाए।

म रम्दै रहेथेँ तिमी पो रिसायौ
नजिस्की रिसाई घमन्डी मिसायौ

बुझेको छु मैले जमाना छ स्वार्थी 
पछारी लडेको देखेर खिस्यायौ ।

कडरियाले दोस्रो गजल स्वतन्त्र सुनाए । कडरियापछि रामशरण थपलिया, सीता कँडेल, मणिराम नेपाल र रामलाल कुमालले गजल सुनाए । कार्यक्रममा सबै स्रष्टाले दुई–दुईवटा गजल सुनाएका थिए ।

दोस्रो चरणममा राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना पौडेल, गिरिराज अधिकारी र यमुना अधिकारी न्यौपानेले गजल प्रस्तुत गरे ।

त्यसैगरी, तेस्रो चरणमा चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी र गिरिराज डल्लाकोटीले गजल प्रस्तुत गरेका थिए । विश्वनाथ खनाल गजलमार्फत यसरी पोखिए :

उनको नजरमा हेर्छु उदासी देख्छु
लाग्छ सबै सपनाहरू बासी देख्छु 

मृगनयन चम्किला उस्तै अधर रसिला छन् 
नागवेली घना काला केस राशि देख्छु ।

चौथो चरणमा सुमन अविरत, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन र विकास बराल गरी ६ जनाले गजल प्रस्तुत गरेका थिए । सो चरणमा गजलकार निर्दोष जीवनले गजल गायन प्रस्तुत गरे ।

त्यसपछि धनराज गिरी, किसान प्रेमी र सरला जोशीले गजल प्रस्तुत गरे । रमेश प्रभात, विष्णु तिवारी उषा र प्रशान्त सागरले अन्तिम चरणमा गजल सुनाउन आए ।

कार्यक्रममा सुनाइएका गजलहरू मिश्रित भावका थिए । धेरैजसो गजल प्रणयभावका थिए भने राजनीतिक बेथिति,  देशप्रेम, सामाजिक परिवेश र दर्शनका विविध पक्षमा लेखिएका गजल स्रष्टाहरूले सुनाएका थिए । गजल सुन्न आएका स्रष्टाहरूको पनि बाक्लो उपस्थिति थियो । बाँकेका स्रष्टा मणि अर्यालले चितवनमा आएर गजल सुन्नुको मजा अलग्गै हुने गरेको बताए । ‘म काठमाडौंबाट घर जाने तयारीमा थिएँ, चितवनमा बृहत् गजल वाचनको कार्यक्रम हुने खबर फेसबुकमा देखेँ,’ अर्यालले भने, ‘चितवनका स्रष्टाहरूका गजल सुन्न म यहीँ झरेँ, आजका केही गजल मलाई बेजोड लागे।’

कार्यक्रमको सहआयोजक रहेको गैरीबारी रिसोर्टका सञ्चालक शिव भुसालले चितवनका स्रष्टाहरूलाई आफ्नो रिसोर्टमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । भुसालले आगामी दिनमा पनि चितवनमा हुने साहित्यिक कार्यक्रमलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदी, अतिथि रामबाबु घिमिरे, लेखराम सापकोटा र अम्बिका कार्कीले चितवनको गजल गतिविधि लोभलाग्दो रहेको भन्दै आजको कार्यक्रममा एकैपटक धेरै स्रष्टालाई मञ्चमा ल्याउनु आयोजकको ठूलो उपलब्धि भएको बताए ।

काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले संस्थाको तर्फबाट काव्य परिक्रमाअन्तर्गत विभिन्न कार्यक्रम नियमित रूपमा गरिरहने योजना रहेको बताए । कार्यक्रमलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सहजीकरण गरेका थिए ।

ad
ad