Skip This
खिम्ती–बाह्रबिसे प्रसारण लाइन आयोजनाको ८० प्रतिशत काम सकियो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Saturday, 27 July, 2024
तामाकोसी–काठमाडौं २२०–४०० केभी प्रसारण लाइनअन्तर्गतको खिम्ती–बाह्रबिसे खण्डमा निर्माण सम्पन्न भएका टावर ।
२o८o श्रावण १४ आइतबार o९:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खिम्ती–बाह्रबिसे प्रसारण लाइन आयोजनाको ८० प्रतिशत काम सकियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार o९:४७:oo

तोकिएको समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको तामाकोसी–काठमाडौं (२२०–४००) केभी प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा ८० प्रतिशत काम सकिएको छ । रामेछापको फुलासीबाट सुरु भई दोलखा हुँदै सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४३ किलोमिटर दूरीको निर्माण कार्य ८० प्रतिशत पूरा भएको हो । सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसीबाट उत्पादन हुनै लाग्दा प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको थियो ।

सो खण्डमा एक सय १८ वटा टावर निर्माण गरी तार टाँग्नुपर्नेमा हालसम्म सयवटा टावरको फाउन्डेसन निर्माण भएको छ । खिम्ती–बाह्रबिसे प्रसारण लाइन आयोजनाका साइड इन्चार्ज गजेन्द्र यादवका अनुसार हालसम्म ८५ वटा टावर ठड्याउने काम पूरा भइसकेको छ । जम्मा ४३ किलोमिटर दूरीमध्ये अहिलेसम्म २३ किलोमिटर क्षेत्रमा तार जडानको कामसमेत पूरा भएको उनले बताए । उक्त खण्डको आर्थिक प्रगति पनि ८० प्रतिशतभन्दा माथि रहेको आयोजनाले जनाएको छ । टावर बनाउने जग्गामध्ये झन्डै ९० प्रतिशत जग्गाधनीको मुआब्जा वितरण भइसकेको छ भने तार मुनि पर्ने झन्डै ९५ प्रतिशत जग्गाको क्षतिसमेत बुझाइसकिएको साइड इन्चार्ज यादवले जनाएका छन् । 

रामेछापकोे साँखे र दोलखाकोे शीतलीमा जग्गा प्राप्तिमा समस्या
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनामा रामेछापको फुलासीस्थित साँखे र दोलखाको मेलुङस्थित शीतलीमा भने तारमुनिको जग्गासम्बन्धी क्षतिबारे निर्णय हुन सकेको छैन । सो क्षेत्रका जग्गाधनीले टावर परेको जग्गासरह क्षति माग गरेपछि निर्णय हुन नसकेको आयोजनाले जनाएको छ ।

२०१९ को मे महिनाबाट सुरु भई २०२३ डिसेम्बरमा सम्पन्न गर्ने गरी आयोजनाको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनलले पाएको थियो । ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर अमित पुनियाले स्थानीय समस्या समाधान हुन सके तोकिएकै अवधिभित्र आयोजना निर्माणको काम सम्पन्न हुने जानकारी दिए । उनले हालसम्म साँखे–शीतली क्षेत्रमा तार तान्ने जग्गाको क्षतिसम्बन्धी निर्णय भए निर्माण कम्पनीलाई सहज हुने जनाएका छन् । 

आयोजनामा पर्ने जग्गा मुआब्जा निर्धारण समिति र क्षतिपूर्ति निर्धारण समितिका संयोजकसमेत रहेका दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शीतली क्षेत्रको जग्गासम्बन्धी विवाद समाधान गर्न सहमतिको प्रयास भइरहेको जनाएका छन् । उनले नियमअनुसार दिन मिल्नेसम्म क्षतिपूर्ति दिलाएर सहमति गराउन प्रयत्न भइरहेको बताएका छन् । आयोजना सम्पन्न हुँदा खिम्ती र लिखु करिडोरको विद्युत् निर्यात सहज हुने 

तामाकोसी–काठमाडौं २२०–४०० केभी प्रसारण लाइन आयोजना सम्पन्न हुँदा खिम्ती र लिखु नदी करिडोरमा निर्माण हुने निजी तथा सरकारी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं निर्यातका लागि सहज हुनेछ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं उपत्यकामा लैजान तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।