१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ११ बिहीबार १३:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छोरी जलेर अस्पतालमा, लालपुर्जा साहुकोमा

दुर्गाबहादुर भन्छन्– गरिबप्रति सरकार र दैव दुबै निर्दयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार १३:१o:oo

गुल्मीको रेसुंगा नगरपालिका– ८ थुम्काकी १२ वर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भयो । गत २९ जेठको बिहान नास्ता खाने क्रममा अगेनोबाट एक्कासि रचनाको कुर्तामा आगो सल्कियो । बिहानै बुबा दुर्गाबहादुर काममा निस्किएका थिए । आमा राधिका पनि जंगल गएकी थिइन् ।

कुर्तामा आगो दन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन् । त्यो समय पानीको अभावले घरमा खानेपानीसमेत नभएको अवस्थामा उनले जिउमा पोख्न पानीसमेत पाइनन् । छिमेकीले दिदीभाइको झगडा भएको सोचेछन् । तर, रचना आगोले जलेर विक्षिप्त थिइन् । केहीबेरमा रचनाको शरीरमा लागेको आगो फुपू र हजुरआमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पुर्‍याइयो । तर, अवस्था जटिल भएकाले अस्पतालले पाल्पा मिसन अस्पतालमा रेफर गर्‍याे।

दुर्गाबहादुरले ऋण गरेरै भए पनि छोरीलाई पाल्पा पुर्‍याए। मिसनमै नौ दिन उपचार भयो । सो अस्पतालले पनि काठमाडौं लैजान सुझाव दिएपछि दुर्गाबहादुरका दम्पतीले छोरीलाई राजधानीको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराइरहेका छन्। ‘पाल्पाको उपचारमा ५० हजार भ्याइयो । पाल्पा र काठमाडौं गर्दा एम्बुलेन्समै ३५–३६ हजार सकियो,’ राधिकाले भनिन्, ‘अस्पताल बसाइको टुंगाे छैन।’

सुष्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेसन गरेको डेढ लाख रुपैयाँ भइसकेको थियो। बालिका र परिवारको अवस्था देखेर ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका उज्वलविक्रम थापाले एक लाख सहयोग गरे। अझै विक परिवारको थाप्लोमा ४० हजारभन्दा बढी अप्रेसनकै खर्च तिर्न बाँकी छ । त्योबाहेक खानपान, औषधिउपचार र बसाइको जोहो गर्न निकै मुस्किल परिरहेको राधिकाले गुनासो गरिन्।

दुर्गाबहादुर विक मजदुरी गर्छन् । ०७१ सालमा मलेसिया पनि गएका थिए। त्यहाँ पुगेको ११ महिनामै कम्पनी बन्द भएपछि नेपाल फर्किएका थिए। भनेअनुसार काम र दाम नपाएका दुर्गाबहादुरसँग गाउँमा खोजेको ऋणसमेत तिर्ने उपाय भएन। सम्पत्तिको नाममा खग्रेटाले बारेको एउटा छाप्रो छ।

गत वर्ष जनता आवास कार्यक्रमअन्तर्गत उनले घर पाउने भए। राम्रो ओतको आसमा विक परिवार खुसी भए । पहिलो किस्ता ३५ हजार पाए। थप किस्ता पाउने आसमा विकले लालपुर्जा धितो राखेर पाँच लाख ऋण निकाले। घर छाउने अवस्थामा छ। तर, सरकारले कबुलअनुसारको किस्ता दिएको छैन। अहिले छोरी जलेर अस्पतालको बेडमा छिन्। ‘ऋण माग्न लालपुर्जा बुझाएँ। सरकारले किस्ता नदिँदा घरका भित्ता र झ्यालढोकामा लेउ उम्रियो। छोरी जलेर अस्पतालमा छटपटाइरहेकी छे,’ उनले भने, ‘गरिबप्रति सरकार र दैव दुवै निर्दयी रहेछन्।’

रचना सो परिवारकी जेठी छोरी हुन्। उनी सिद्धबाबा माविको कक्षा ६ मा पढ्छिन्। उनको उपचारका लागि अहिले विद्यालय र समुदायस्तरमा चन्दा संकलन भइरहेको छ। लामो समय उपचार गर्नुपर्ने भएकाले सो परिवारलाई आर्थिक संकट देखिएको छ।