
नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव धरौटीमा रिहा भएकी छिन्।
जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र इंगनामको इजलासले सोमबार उपप्रमुख मीरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको फैसलाप्रति सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले अदालतबाट प्रारम्भिक न्याय पाएको बताइन्।
जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना बितिसक्दासमेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
गत साउनको दोस्रो साता कृष्णले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीअनुसार उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी हुन्।
विधानसभा निर्वाचन क्षेत्र बिहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमती दुवै भारतीय मूलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ।
भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रमसंख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भनी अनुमण्डलीय न्यायालय निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्रसमेतबाट उनीहरू भारतीय रहेको दाबीसहितको कागजपत्र उजुरीमा संलग्न गरिएको छ।
दुई महिनाअघि कृष्णले उच्च अदालतमा दायर गरेको सो मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायणसिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेश जारी गरेपछि प्रहरीमा मुद्दा दर्ता थियो। सो मुद्दाका अर्का आरोपी उपमेयर मीराका पति महेन्द्रकुमार यादव भने अझै फरार छन्। उनको खोजी कार्य भइरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।