
लमजुङको दोर्दी गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
दोर्दी गाउँपालिका, एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दरबजार, लाइन्स क्लब अफ लमजुङ टुग्यादर वि क्यान र लाइन्स क्लब अफ लमजुङको संयुक्त आयोजनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
एचडिसिएस नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगसमेत रहेको शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण, मानसिक समस्या भएकालाई मनोपरामर्श, छाला रोग, प्यालेटिभ केयरसम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। शिविरमा एचडिसिएस नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा डा. विजय शाह, डा. आशिष गिरी, शोभ ठकुरी, रामचन्द्र ढकाललगायत नौथर सामुदायिक स्वास्थ्य एकाइका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए। शिविरमा उक्त क्षेत्रका ६ सय ६५ नागरिकले स्वास्थ्य सेवा लिएको एचडिसिएस नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।
लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको लायन्स क्लब अफ लमजुङ टुगेदर वि क्यानका अध्यक्ष शोभा ठकुरीले बताइन्। शिविरमा स्त्री रोगसम्बन्धी ६५ जनाको परीक्षण भएकोमा पाठेघरको मुखमा घाउ भएका २५ जना, पाठेघरमा मासु पलाएको तीनजना र एकजनाको पाठेघरको सामान्य जाँच गरिएको थियो।
त्यस्तै, तीनजनाको पित्तथैलीमा समस्या देखिएको थियो। शिविरमा ५५ जनाको दन्त परीक्षण, दुई सय १५ जनाको भिडियो एक्सरे, ९५ जनाको रगत परीक्षण, ५५ जनाको छाला रोग भएका बिरामीको उपचार गराइएको थियो। त्यसैगरी १५ जनालाई मनोविमर्श सेवा र एक सय ३८ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो।