२०७६ बैशाख ९ सोमबार ०६:३९:००
तीर्थराज बस्नेत

महानगरले जफत गरेका सस्तो सामान फिर्ता, महँगो लिलामी

तीर्थराज बस्नेत
२०७६ बैशाख ९ सोमबार ०६:३९:००

सिन्धुपाल्चोककी कान्छीमाया तामाङले काठमाडौंमा ठेलामा तरकारी व्यापार गरेको एक वर्ष भयो । १५ हजारमा ठेला किनेर सुरु गरेको व्यवसायले उनी चारजनाको परिवार पालिरहेकी थिइन् । तर, फुटपाथमा राखेको भन्दै महनगरले उनको ठेला जफत गरिदियो । ठेला खोसिएपछि तामाङको रोजगारी नै गुम्यो । उनी ठेला फिर्ता माग्न गइन् । तर, नगरप्रहरीले उनको तरकारी फिर्ता ग-यो, ठेला गरेन ।

‘परिवार पाल्ने बाटो नै यही हो,’ तामाङ नगरप्रहरीसँग गुनासो पोखिरहेकी थिइन्, ‘दिनभरि बेचेको कमाइले बिहान–बेलुकाको छाक टथ्र्यो । अब के गर्नू ?’महोत्तरीका रामजनम साहले पनि आठ वर्षदेखि साइकलमा फलफूल बेचेर गुजारा चलाइरहेका थिए । दैनिक सरदर दुई हजार कमाउँथे उनी । एक महिनाअघि फलफूल बेच्दै कलंकी पुगेका वेला उनको साइकल महानगरले खोसिदियो । उनले साइकल फिर्ता पाएनन् । नगर कार्यपालिकाको बैठकले एक वर्षअघि नै ठेला, साइकलजस्ता सामान लिलामी गर्ने निर्णय गरिसकेकाले फिर्ता दिन नमिल्ने नगरप्रहरीले उनलाई बताए । 

 सस्तो फिर्ता, महँगो लिलामी 
एक वर्षदेखि काठमाडौं महानगरले फुटपाथ व्यवस्थापनका लागि भन्दै सडकछेउमा व्यवसाय चलाउने व्यापारीका सामान जफत गर्न थालेको छ । नगरप्रहरीले जफत गरेका सस्ता सामान फिर्ता दिन्छ, तर साइकल, ठेलाजस्ता महँगा सामान लिलामी गर्ने गरेको छ । लिलामीबाट प्राप्त रकम महानगरको राजस्व कोषमा जम्मा हुने नगरप्रहरीको भनाइ छ ।

‘सडकमा राखिएको वस्तुको स्वामित्व कुनै व्यक्तिमा हुँदैन,’ नगरप्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘तरकारी, फलफूललगायत सामान फिर्ता गर्छौँ । तर, ठेला, साइकलजस्ता सामान टेकुमा राख्छौँ र बागदरबारमा लिलामी गर्छौँ ।’ उनले सामान्य कारबाही गर्दा फुटपाथमा व्यापार नघटेकाले निर्मम हुनुपरेको बताए । ‘सामान्य कारबाही गर्दा कुनै असर देखिएन । त्यसैले, यस्तो निर्णय लिएका हौँ,’ सापकोटाले भने, ‘सडकमा व्यापार गर्नेलाई मर्का परेको होला । तर, भावुक भएर नहुने रै’छ । भावुक हुनुपरेमा म पनि तीन घन्टा रुन सक्छु ।’ 

 लिलामीको तथ्यांक छैन 
फुटपाथमा व्यापार गर्नेलाई नियन्त्रणमा लिने र कारबाही गर्ने जिम्मा महानगरले सुरक्षा विभागलाई दिएको छ । सडकमा जफत गरिएका सामग्री लिलामी गर्ने जिम्मा पनि नगरप्रहरीकै हो । तर, एक वर्षयता कति सामग्री लिलामी भएर कति राजस्व प्राप्त भयो भन्ने तथ्यांक नगरप्रहरीसँग छैन । ‘अहिलेसम्म यति नै कारबाही र जरिवाना भयो भन्न सक्ने अवस्था छैन,’ नगरप्रहरी प्रमुख सापकोटाले भने । 
ठेला र साइकल व्यापारीप्रति आक्रामक देखिएको महानगरले पैदलयात्रुलाई 
अप्ठ्यारो पर्ने गरी कपडा व्यापार गर्न भने छुट दिएको छ । साँझपख रत्नपार्क, कोटेश्वर, चाबहिललगायत स्थानमा फुटपाथ ढाकेर कपडा व्यापार हुने गरेको छ । ‘कार्यालय समयमा मान्छेको चाप हुने वेला हामीले कारबाही गर्दै आएका छौँ,’ डंगोलले भने, ‘साँझपख फुटपाथमा हुने व्यापारप्रति भने लचिलो छौँ ।’ उनले फुटपाथ व्यापारलाई एकीकृत गर्न रात्रिबजार सञ्चालनको तयारीसमेत भइरहेको सुनाए । ‘सडकमा व्यापार गरेर जीविकोपार्जन गर्नेलाई लक्षित गरेर नाइट मार्केट चलाउनेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसका लागि शान्ति–सुरक्षा र अन्य प्रभावबारे हामीले अध्ययन गरिरहेका छौँ ।’

जरिवाना गर्दा प्रहरीले पैसा खायो भने : प्रवक्ता डंगोल 
फुटपाथमा व्यापार गर्नेलाई जरिवाना तिराएर सामान छोड्दा उल्टै पैसा खाएको आरोप भोग्नुपरेको महानगरको भनाइ छ । प्रवक्ता ईश्वरमान डंगोलका अनुसार एक वर्षअघिसम्म जरिवाना लिएर सामान फिर्ता दिइन्थ्यो । ‘त्यसो गर्दा नगरप्रहरीले पैसा खायो भन्ने आरोप लाग्यो,’ डंगोलले भने, ‘त्यसैले कार्यपालिकाको बैठकले लिलामीको निर्णय गरेको हो ।’