१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाल्पामा १० वर्षमा सात सय २७ जनाले गरे आत्महत्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४o:oo

आत्महत्या गरेका सात सय २७ मध्ये ६ सय १९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् 

पाल्पामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रूपमा बढ्दै गएको छ । १० वर्षमा यहाँ सात सय २७ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ थियो । ०७१/७२ मा ५५ जनाले आत्महत्या गरेका थिए । यसैगरी आव ०७२/७३ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ ।  आव ०७३/७४ र ०७४/७५ मा आत्महत्या गर्नेको संख्या समान ६७–६७ रहेकाे छ । यस्तै, आव ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियाे । जुन १० वर्षको तथ्यांकमा सबैभन्दा बढी हो ।

यसैगरी आव ०७६/७७ मा ८३, आव ०७७/७८मा ७६, आव ०७८/७९ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षमा पनि आत्महत्या गर्नेको अनुपात घटेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार असार ३१ सम्म ८५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका सात सय २७ मध्ये ६ सय १९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलका अनुसार आव ०७९/८० मा आत्महत्या न्यूनीकरणको अभियानस्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको छ । मानिसलाई समुदायमा भेला गरेर जीवनको महत्व बुझाउँदै प्रहरीले व्यावहारिक ज्ञान बाँड्ने गरेको एसपी कट्टेलले बताए । धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ ।

यस वर्ष प्रहरीले आत्महत्या न्यूनीकरणका लागि विशेष कार्य गर्ने योजना रहेको एसपी कट्टेलले बताए । उनले आफूहरूसँग आर्थिक स्रोतको अभाव हुने भएकाले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय, विद्यालय, र समूहमा सचेतनाको काम गर्ने योजना रहेको बताए । स्थानीय तहले कुनै न कुनै उपायको खोजी गरी आत्महत्या न्यूनीकरणका विषयमा काम गर्नुपर्ने उनको सुझाव छ ।

स्थानीय सरकारले ध्यान दिन सकेनन्
सरकार अभिभावक हो भने आफ्ना नागरिकको जीवन बचाउने प्रयत्न गर्नु उसको पहिलो जिम्मेवारी हो । तर, स्थानीय सरकारले आत्महत्या रोकथामको विषयमा खासै सोच्ने फुर्सद पाएका छैनन् । 

रिब्दिकोट गाउँपालिकाक अध्यक्ष नारायणबहादुर कार्कीले आत्महत्या न्यूनीकरणका लागि ठोस कदम चाल्न नसकेको र यसबारे आगामी आर्थिक वर्षमा काम गरिने बताए । ‘स्वास्थ्य शाखाबाट केही काम भएको होला, तर हामीले महत्व दिन सकिरहेका छैनौँ,’ अध्यक्ष कार्कीले भने, ‘आगामी दिनमा अवश्य सोच्छौँ ।’

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आत्महत्या न्यूनीकरणको विषय महत्वपूर्ण भए पनि ध्यान दिन नसकिएको, तर यो वर्ष काम गर्ने प्रतिबद्धता जनाए । उनले आर्थिक अभाव, बेमेल र ठूला महत्वाकांक्षाले बढी आत्महत्या हुने गरेको औँल्याए ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आत्महत्या न्यूनीकरणका लागि सकारात्मक सोचको विकास गराउनु महत्वपूर्ण कुरा भएको बताउँदै यो वर्ष विद्यालय, आमा समूह र युवा क्लबलाई लक्षित गरेर सचेतना अभियान चलाइने बताए । माथागढीले पनि अहिलेसम्म ठोस काम गरेको छैन ।

बगनासकाली गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत आत्महत्याका सवालमा केही कार्यक्रम गरेको अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाइ छ । प्रहरीसँगको समन्वयमा समेत केही सचेतनामूलक काम भएको भन्दै अध्यक्ष दर्लामीले यो वर्ष योजना बनाएर लाग्ने बताइन् ।

रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले मनोपरामर्श दाताबाट यस वर्ष विभिन्न समुदायमा सचेतनाको काम गर्ने योजना रहेको बताए । उनले गत वर्ष पनि आत्महत्या न्यूनीकरणका लागि काम गरेको, तर त्यो प्रयाप्त नभएको बताए।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले चेतनाको कमी र बेरोजगारीले आत्महत्या बढेको बताउँदै यसको न्यूनीकरणका लागि मानिसहरूलाई व्यस्त बनाउनुपर्नेमा जोड दिए । उनले समुदायस्तरमा चेतनामूलक काम गरिएको, तर त्यो पर्याप्त नभएकाले थप ध्यान दिनुपर्नेमा जोड दिए ।


 

ad
ad