
सुदूरपश्चिम प्रदेश सभाको बैठक २५ दिनपछि आज बस्दै छ । अपराह्न ४ बजे बस्ने बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको शोकमा शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । गत ५ असारमा बझाङमा भएको सडक दुर्घटनामा परेर उनको मृत्यु भएको थियो ।
शोकप्रस्ताव पारित गरेर बैठक सकिने प्रदेश सभा सदस्य मेघराज खड्काले बताए। मंगलबारबाट बजेटमाथिको छलफल अगाडि बढ्ने बताइएको छ । यद्यपि, बजेटमाथिको छलफलको मिति तय भइसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले गत १ असारमा ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल नै सुरु भएको छैन । बजेट सार्वजनिक भएपछि पहिलोपटक आज प्रदेश सभा बैठक बस्न लागेको हो ।
बजेटमा प्रतिपक्षीसँगै सत्तापक्षमै तीव्र असन्तुष्टि देखिएपछि छलफल सुरु हुन नसकेको हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीभित्रै बजेटप्रति असन्तुष्टि छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पनि बजेटको विरोधमा छन् । सत्तापक्षकै अधिकांश सदस्य विरोधमा भएपछि सरकारलाई बजेटमाथिको छलफल अगाडि बढाउन सकस परेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार दलको बैठक बोलाएर बजेटमाथि सदस्यहरूका धारणा सुनेका थिए । उक्त बैठकमा प्रदेश सभा सदस्यहरूले बजेट असन्तुलित रहेको भन्दै त्यसलाई सन्तुलित बनाएर लैजानुपर्ने धारणा राखेका थिए । संसदीय दलको बैठकले मन्त्री सिंहको निधनमा शोकप्रस्ताव पारित गरेको थियो । तर, बजेटबारे भने कुनै निर्णय नभएको प्रदेश सभा सदस्य बहादुरसिंह थापाले जानकारी दिए ।