
दोहोरो नागरिकता लिने एक दम्पतीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । बैतडी र कञ्चनपुरबाट दोहोरो नागरिकता लिने कलावती चन्ददम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले दोहोरो नागरिकता लिने गम्भीर चन्द र कलावती चन्दलाई प्रहरीले पक्राउ गरेको बताए । बैतडीको पञ्चेश्वर गाउँपालिका– ५ खेटी बस्ने ५८ वर्षीय गम्भीर र ३९ वर्षीया कलावतीलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरिएको बताए।
प्रवक्ता चन्दले उनीहरूविरुद्धमा २८ वैशाखमा दोहोरो नागरिकता लिएको कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको दुई महिनापछि चन्ददम्पती पक्राउ परेका हुन् । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर कलावतीले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ । कलावतीले भीमदत्त नगरपालिका– ५ कञ्चनपुरका गम्भीरसँग दोस्रो विवाह गरेर नागरिकता लिएको र उक्त नागरिकता दिलाउन गम्भीरले समेत भूमिका निर्वाह गरेकाले प्रहरीले दुवैलाई पक्राउ गरी मुद्दा चलाएको छ । अहिले दुवैजना कञ्चनपुर प्रहरी हिरासतमा छन् । दुवैजनामाथि नागरिकता ऐन कसुरसम्बन्धीको मुद्दा चलाइएको छ ।