१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Friday, 09 May, 2025
२o८o असार १७ आइतबार १३:१३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लिफ्टिङ प्रविधिमार्फत लमगाउँका प्रत्येक घरमा धारा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १७ आइतबार १३:१३:oo

बाग्लुङ सदरमुकामदेखि नजिकैको लमगाउँका स्थानीयले वर्षौँदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । खानेपानीका लागि दैनिक आधा घण्टा बढि समय उकालो ओरालो गर्नुपर्थ्यो । लिफ्टिङ प्रविधिमार्फत खानेपानीको योजना सम्पन्न भएपश्तात यहाँका स्थानीयलाई खानेपानीको संकट टरेको छ। बागलुङ नगरपालिका वडा नं.–६ लमगाउँमा लिफ्ट प्रविधिमार्फत ‘एक घर, एक धारा’ पु¥याएपछि खुसीयाली छाएको छ ।

बागलुङ बजारसँगै जोडिएको गाउँ भएर पनि लामो समयदेखि खानेपानीको चरम संकट भोग्दै आएका लमगाउँबासीलाई बागलुङ नगरपालिकाले लिफ्ट प्रविधिको प्रयोग गरी घर–घरमा खानेपानी सुविधा पु¥याएको हो । लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाई आयोजनामार्फत नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा तथा बागलुङ नगरपालिकाको साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो ।

घरमुनिको पानी तानेर घर–घरमा धारा
नगरपालिकाले खानेपानीको संकट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियानअन्तर्गत खानेपानीको मूल अभाव भएको स्थानमा लिफ्टमार्फत घर घरमै खानेपानी पु¥याएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले नेवासँगको साझेदारी र स्थानीय जनसहभागितामा खानेपानी योजना सम्पन्न गरेको हो।

खेतमा रहेका कुवा, मूल र सामुदायिक धाराकोे पानी प्रयोग गर्दै आएका स्थानीयले लिफ्टमार्फत घरमुनिको पानी तानेर घर–घरमा पु¥याइएको नगरप्रमुख श्रेष्ठले बताए । खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गरिएको हो। अहिले घरमै बनेको धारामा पानी आउँदा स्थानीय खुसी छन्।

‘सदरमुकामदेखि नजिकै भएर पनि यहाँका स्थानीयले खानेपानीको अभाव झेल्दै आउनुपरेको थियो । गत मंसिरमा सम्झौता भएर आयोजनाको काम सुरु भएको थियो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सात महिनामा नै खानेपानी योजना सम्पन्न गरेर घरघरमा पानी खसेको छ । छोटो समयमा यहाँका स्थानीयलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्न सक्यौं।’ उनले नगरभित्र  खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने बताए।

लिफ्टमार्फत खानेपानी पु¥याउँदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठ बताउँछन्। आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी संकट क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।

एक गाग्री पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता हट्यो
खानेपानी आयोजनाले पूर्णता पाएलगत्तै घरआँगनमै पानी थाप्न पाईएको स्थानीय  सरस्वती थापा बताउँछिन्। ‘घर–आँगनमै पानी झरेपछि सहज भएको छ, नगरपालिकाले ढिलै भए पनि हाम्रो खानेपानीको समस्या समाधान गरेकामा धन्यवाद,’ उनले भनिन्, ‘घरको कामसँगै  एक गाग्री पानीका लागि घण्टौँ लाईन लगाउनुपर्ने बाध्यता हटेको छ।’

अव्यवस्थित मूल र सामुदायिक धारामा खानेपानी भर्नका लागि समय खर्च गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमार्फत खानेपानी आयोजना संचालन गरिएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले बताए। नेवाले आयोजना सम्पन्न गर्नका निम्ती कुल ४६ लाख २ हजार ४२९ रुपैयाँ सहयोग गरेको थियो।  

खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयलाई ठुलो राहत पुगेको लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष एकेन्द्र थापाले बताए । कुल १४५ धारा निर्माणबाट ७१६ जनसंख्यालाई प्रत्यक्ष लाभ पुगेको छ। आयोजना सम्पन्न गर्नका निम्ती कुल ७२ लाख २६ हजार १४७ रुपैयाँ खर्च भएको थापाले बताए । जसमा बागलुङ नगरपालिकाको १२ लाख १६ हजार ४ रुपैयाँ, नेवाको ४६ लाख २ हजार ४२९ रुपैयाँ, स्थानीयको नगद सहयोग ४ लाख ५१ हजार ४ सय रुपैयाँ र स्थानीय जनश्रमदान ९ लाख ५६ हजार ३१४ रुपैयाँ रहेको छ।

आयोजनाअन्तरगत इन्टेक १, पानी बाँड्ने ठ्याड्ने १, पानी जम्मा गर्ने ४ वटा  स्थानीय समुदायमा १४४ र स्थानीय विद्यालयमा १ धारा निर्माण गरिएको छ । आयोजनाका निम्ति १० हजार ६९१ मिटर पोलिथिन पाइप र १६० मिटर जिआई पाइप जडान गरिएको अध्यक्ष थापाले बताए।