
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच आज भेटवार्ता भएको छ।
प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा गरेका थिए।
त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकार संरक्षण एवं प्रवर्द्धन गरी संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भएर पुर्याएको योगदानबारे चर्चा गरे।
भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हितलगायत विषयमा छलफल भएको थियो।
त्यस अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो।