इँटा व्यवसायी बर्खाको मारमा

काँचो इँटा गल्दा साढे पाँच करोड रुपैयाँभन्दा बढी क्षति भयो

२०७६ बैशाख ६ शुक्रबार ११:४३:००

लगातारको वर्षाले सिरहाका इँटा व्यवसायी मारमा परेका छन् । भट्टामा हाल्ने समय भएका करोडौँ रुपैयाँबराबरका इँटा वर्षा र हावाहुरीले नष्ट गरेको व्यवसायीले बताएका छन् । चैतको अन्तिम सातादेखि बुधबारसम्ममा पाँचपटक वर्षा र हावाहुरीले इँटाभट्टामा क्षति पु-याएको व्यवसायीको भनाइ छ । 
इँटा उद्योग महासंघका जिल्ला अध्यक्ष विक्रम साहले जिल्लाका ५६ वटा भट्टामा औसत पाँच लाखका दरले दुई करोड ८० लाख काँचो इँटा गलेर काम नलाग्ने भएको बताए । ‘दुई करोड ८० लाख इँटा नष्ट हुँदा पाँच करोड ६० लाख रुपैयाँबराबरको नोक्सान भएको छ,’ अध्यक्ष साहले भने, ‘त्यसैले व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेका छन् ।’

महासंघका जिल्ला कोषाध्यक्ष रामसगुन यादवले पानीसँगै हुरीबतास आउँदा इँटाका चाङ ढलेर कामै नलाग्ने भएको बताए । इँटा बनाउने मुख्य समयमै वर्षात भएपछि ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको इँटा व्यवसायी कृष्णा सिंहले बताए । ‘इँटा व्यवसायीका लागि जेठ–असारसम्म पिक (मुख्य) सिजन भएकाले धेरै काँचो इँटा भट्टामा हाल्न तयारी गरिएको थियो, पानीले गलेर काम नलाग्ने भएको छ,’ सिंहले भने । 
सरकारसँग गुनासो
सरकारले व्यवसायीसँग कर मात्र असुल्ने गरेको गुनासो व्यवसायीले गरेका छन् । अध्यक्ष साहले भने, ‘प्राकृतिक प्रकोपले व्यवसायीलाई समस्या पर्दा सरकारले पनि हेर्नुपर्छ । अन्यथा, व्यवसायीहरू पलाउन हुने अवस्था आउनेछ । पछिल्लो महिना महासंघले इसिमोडको सहयोगमा मुलुकभर प्रविधि रूपान्तरणका लागि व्यवसायीलाई तालिम सञ्चालन गर्दा पनि सरकारले बेवास्ता गरेको उनले गुनासो गरे ।