
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले शिष्टाचार भेटवार्ता गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तरकोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो। भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गरे।
कोरियाली संसदमा उत्तरकोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले निकट दिनहरूमा नै नेपालले नेपाल–उत्तरकोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए। सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको प्रस्ट पारे।
भेटमा नेपालका लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराएका थिए।