
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले विपत् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
वर्षातका कारण पूर्वी पहाडी जिल्लाहरूमा विपतमा परी उपचार नपाएर नागरिकहरूको ज्यान गइरहेका वेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै उनले आपत्ति जनाए। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्रीसहितका मन्त्रीहरू बेखबर रहेको भन्दै आक्रोश व्यक्त गरे।
‘मृत्युभन्दा नि ठूलो डर मरिन्छ कि भन्ने हो । त्यो पीडाले सधैँ मारिरहेको हुन्छ । अहिले पहाडका केही जिल्लालाई त्यही त्रासले मारिरहेको छ । र, प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसैगरी सबै जोखिमपूर्ण अवस्थामा रहेको छ । आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ । तर, हामीले गृहमन्त्री र उहाँको तयारीबारे जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने।
सांसद झाले आफूहरूले विपत् व्यवस्थापनबारे जनतालाई जवाफ दिनुपर्ने उल्लेख गर्दै सरकारले यसबारे संसद्लाई जानकारी गराउन ढिलाइ गर्न नहुने बताए।