१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Saturday, 22 June, 2024
प्रतापसिंह राई
२o८o असार ४ सोमबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

शिविरमा रहेका शरणार्थी भन्छन्– भुटानले शारीरिक यातना दियो, नेपालले मानसिक

नक्कली शरणार्थी प्रकरणले वास्तविक भुटानी शरणार्थी मर्माहत छन्, ठगीमा अझ सरकारकै पदाधिकारीको संलग्नताले उनीहरूलाई थप पीडा दिएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार ४ सोमबार o८:१७:oo

दमकस्थित भुटानी शरणार्थी शिविर छाप्रो नम्बर ४०३ का ८४ वर्षीय जगतबहादुर गुरुङलाई हिँड्डुल गर्न निकै मुस्किल पर्छ । नौजना छोराछोरीका बाबु जगतबहादुरको बुढेसकालको सहारा लौरो भएको छ । उनको परिवार तीनतिर छ । भुटानमा दुई छोराको परिवार छ । चार छोरा र तीन छोरी अमेरिका छन् । जगतबहादुर र उनकी श्रीमती शिविरमा सहाराविहीन छन् । 

जगतबहादुर गुरुङ

अमेरिका पठाउन नक्कली भुटानी शरणार्थी बनाउन राज्यका उच्च ओहदाका मान्छे नै लागिपरेको खबरले जगतबहादुर बेचैन छन् । ‘भुटानी शरणार्थी हुनुको पीडा के हो ? यो हम्सेदुम्सेको जंगलबीचमा बसेका हाम्रो अवस्था हेर ! छोराछोरीको काखमा रमाउनुपर्ने यो अवस्थामा एक्लो भएका छौँ । हाम्रो मन कति रुन्छ ?’ नयाँ पत्रिकासँग उनले भने, ‘दुई छोराको परिवार उतै भुटानमा छाडियो । सातजना छोराछोरीको परिवार अमेरिका पुगेको छ । अब न हामी भुटान जान सक्छौँ, न अमेरिका नै !’ 

पुनर्वासले एक्लिएका छाप्रो नम्बर ३४४ का ८४ वर्षीय प्रतापसिंह राई नक्कली भुटानी शरणार्थी प्रकरणपछि उकुसमुकुस छ । ‘शरणार्थी हुनुको पीडा ३२ वर्षदेखि हामीले भोगिरहेका छौँ । सहरमा बसेर ठूलो देश जान खोज्नेलाई हाम्रो पीडा के थाहा ? हामीलाई सोध्न आऊन्,’ उनले भने, ‘हामीलाई त नेता र कर्मचारीले भेडा–बाख्रा सम्झिएछन् । कमाइखाने भाँडो बनाएछन् । भेडा–बाख्राजस्तो बेच्न पो खोजेछन् ।’ नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएपछि भुटानी शरणार्थी शिविर बेल्डाँगीका पूर्व शिविर सचिव सञ्चाहाङ सुब्बालाई तीन दशकअघि पाएको यातनाको झलझल याद आइरहेको छ ।

सञ्चाहाङ सुब्बा

तीन दशकअघि प्रजातन्त्र माग्दा भुटानको राजतन्त्रले नेपालीभाषीमाथि गरेको दमन यो प्रकरणले सम्झाएको उनले बताए । ‘भुटानबाट लखेटिँदा र अहिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आउँदा मैले खासै फरक अनुभूति गरेको छैन,’ उनले भने, ‘फरक यति छ– त्यो वेला शारीरिक यातना पायौँ । अहिले मानसिक ।

शारीरिक यातना सहन नसकेर नेपालमा शरण माग्दै आएका थियौँ । अहिले पाएको मानसिक यातना सहन मुस्किल भएको छ । अब हामी कहाँ जाने ?’ नक्कली शरणार्थी बनाएर अमेरिकालगायत शक्तिशाली देश लैजान खोज्ने यो प्रकरणले विश्वमा भुटानी शरणार्थीको बेइज्जत भएको सञ्चहाङको भनाइ छ ।

भुटानको राजाले नेपालीभाषी भुटानी शरणार्थीमाथि लगाएको ‘नक्कली भुटानी’को आरोप पनि नेपाल सरकारले नै पुष्टि गरिदिएको उनले तर्क गरे । ‘भुटानले स्वदेश फिर्तीको माग राख्दा त्यहाँ नक्कली भुटानी छन् भनेर हामीलाई आरोप लगाउँथ्यो । हामीलाई भुटानी स्वीकार्न तयार नभएका कारण स्वदेश फिर्तीको आन्दोलन कमजोर भएको हो । नेपाल सरकारको उच्च पदमा बसेकाले आज भुटान सरकारलाई भुटानी शरणार्थी नक्कली हुन् भन्ने पुष्टि गराइदिएको छ । यसको क्षति कसले व्यहोर्ने ?’ उनले नयाँ पत्रिकासँग भने, ‘यो प्रकरणले अब स्वदेश फिर्तीको आन्दोलन लगभग सकियो ।’

विगतमा पनि यसरी नै नक्कली शरणार्थी बनाएर विभिन्न मुलुक पठाएको हुन सक्ने शरणार्थीको आशंका छ । ‘नेपालमा रहेका युएनएचसिआर र आइओएम संस्थामा आबद्ध नेपाली कर्मचारीले पनि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा नक्कली शरणार्थी बनाएर पठाएको हुन सक्छ,’ शिविर पूर्वसचिव राजमान गुरुङले भने, ‘यसमा पनि अनुसन्धान गरिनुपर्छ ।’

तीन दशकअघि प्रजातन्त्रको माग गर्दा भुटानबाट लखेटिएका नेपालीभाषी भुटानीहरू भाषा मिल्ने देश नेपालको झापा र मोरङका विभिन्न शिविरमा बसे । शरणार्थी समस्या समाधानका रूपमा पुनर्वास प्रक्रिया थालनी भएपछि करिब एक लाख १५ हजार शरणार्थी तेस्रो मुलुक पुनर्वास भए । २०१६ देखि पुनर्वास प्रक्रिया पूर्ण रूपमा बन्द भइसकेको छ । २०१८ देखि उनीहरूलाई दातृ निकायले दिने रासन सहायता पनि बन्द भएको छ ।  भुटानी शरणार्थीको लगभग समस्या समाधान भइसकेको भन्दै शरणाथीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)को दमकस्थित कार्यालय सन् २०२० मै बन्द गरिसकेको छ । 

अब भुटानी शरणार्थी शिविर बेल्डाँगी र पथरीशनिश्चरे शिविरमा गरी ६ हजार ३६५ जना भुटानी शरणार्थी छन् । दुईवटा शिविरमा विभिन्न कारणले दर्ता छुटेका करिब एक हजार हाराहारी शरणार्थी रहेको बताइएको छ । आधा परिवार पुनर्वासका क्रममा अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा छन्, आधा यहीँ शिविरमा । अधिकांश भुटानी शरणार्थी पारिवारिक विछोडले विक्षिप्त छन् ।

ad
ad
ad
ad