
सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकले ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका छन्।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गरेका हुन्।
ड्युटी राम्रो नगरेको र तस्करीलाई सघाएको भन्दै पोसाकमा ड्युटी गरिरहेका प्रहरीलाई कुटपिट गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
निरीक्षक राईसहितको टोलीले मंगलबार राति कुटपिटबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका हुन्।
उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए। उनीहरूलाई मंगलबार राति ८ बजे सीमाबाट गोरु छाडेको भन्दै कुटपिट गरेका थिए।
पोसाकमा रहेका प्रहरीलाई सादा पोसाकमा रहेका प्रहरी निरीक्षकसहितको टोलीले कुटपिट गरेपछि स्थानीय आक्रोशित भएका थिए। राति केही समय नकलबन्दा तनावग्रस्त भएको थियो।
स्थानीयले सशस्त्र प्रहरी बल नकलबन्दा बिओपीको गाडी पनि तोडफोड गरेका थिए। सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल पुगेर ड्युटीमा रहेका प्रहरीलाई कुट्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय शान्त भएका थिए।
कुटपिटमा संलग्न प्रहरी निरीक्षक राईसहितको टोलीलाई सशस्त्र प्रहरी बल २ नम्बर गण भद्रपुरमा राखिएको छ । उनीहरूलाई आजै बहिनीमा बुझाउने तयारी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार घटनाको छानबिन गर्ने सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंको संयोजकत्वमा छानबिन समिति बनेको छ। समितिले झापा आएर काम सुरु गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।