मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २७ शनिबार १३:३९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लोप हुँदै वन कुकुर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २७ शनिबार १३:३९:००

वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

लोप हुने अवस्थामा पुगेपछि यसको खोजी, अनुसन्धान हुनुका साथै संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू लागिपरेका छन् । यसै सन्दर्भमा क्यानिड्स स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपको आयोजनामा हालै नेपालमा सप्ताहव्यापी दोस्रो ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन सम्पन्न भएको छ । यसअघि यस्तो पहिलो सम्मेलन सन् २०१९ मा थाइल्यान्डमा भएको थियो ।

यही जेठ १८ देखि २४ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विभिन्न १३ देशका ४० जना वन कुकुर संरक्षणकर्मीको सहभागिता रहेको थियो। सम्मेलनले वन कुकुर संरक्षण कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ । सम्मेलनमा वन कुकुरको अवस्था, संख्या वितरण, आहारको उपस्थिति तथा संरक्षणका लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल भएको ग्रुपका नेपाल संयोजक डा. अम्बिकाप्रसाद खतिवडाले जानकारी दिए। यसले सरकारलाई नीतिगत सहयोग पुग्ने उनको विश्वास छ।

सन् २०१५ को तथ्यांकअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै संख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । वन कुकुर नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, इन्डोनसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देशमा पाइएको बताइन्छ ।

नेपालको तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजंघा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्र एवं हुम्लाको लिमी भ्यालीमा पाइएको यो जनावरको विषयमा विद्यावारिधि गरेका डा. खतिवडाले बताए। यी जनवार चुरे क्षेत्रमा बढी देखिएका छन् । वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको र नेपालको ‘लोपोन्मुख संरक्षण स्थिति’ मा सूचीकृत छ । शारीरिक संरचना र आनीबानीका रूपमा कुकुर र ब्वाँसो छुट्टिइसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन् ।’

वन क्षेत्रको विनाशले वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवं विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धिलगायतका कारणले यो प्राणी लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहका अनुसार सिकारी प्रजातिको वन कुकुरको संरक्षणमार्फत यसका आहारजन्य प्रजातिको नियमनमा सघाउ पुग्ने भएकाले पनि यसको संरक्षण आवश्यक छ । यसविना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव–मानवद्वन्द्व अझ बढ्न सक्ने बताइन्छ ।

वन कुकुर उभिँदा १७–१२ इन्च र लम्बाइमा तीन फिटसम्मका हुने गर्दछन् । सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ । औसत पाँचदेखि १० संख्याको समूहमा रहने यी वन कुकुर भने अन्य कुकुर प्रजाति (अफ्रिकी जंगली कुकुरसहित)भन्दा शान्त स्वभावका हुन्छन् । यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन् ।

वन कुकुरको विषयमा स्नातकोत्तरको शोधकर्ता तुष्णा रायमाझी हालसम्म यस क्षेत्रमा भएका अध्ययनले यसको संख्या निर्धारण र बासस्थान क्षयीकरणका बारेमा पर्याप्त जानकारी हासिल गर्न नसकेको बताउँछिन्। यसको संरक्षण गरेर पर्यटनसँग पनि जोड्न सकिने उनको धारणा छ । वन कुकुरका अर्का अध्ययनकर्ता अस्मिता पाण्डे यसको संरक्षणका लागि संरक्षण कार्ययोजना आवश्यक रहेकोमा जोड दिँदै वन कुकुर देखिएका स्थानमा सम्बन्धित स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउँछिन्।

वन कुुकुर अधिकांश शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन् । यसको सिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जंगली बदेल, रतुवा, गौरी गाईलगायतसम्म पर्छन् । हिमाली भेगमा पाइने वन कुकुरले भने चरनमा लगिएका भैँसी, गाई, भेडा, बाख्रा, आदिको सिकार गर्ने गरेको देखिन्छ । वन कुकुरले धेरैजसो पाका र रोगले कमजोर भएका वन्यजन्तुको सिकार गर्ने गर्छ । स्वस्थ पोथी वन कुकुरले बढीमा १२ वटासम्म बच्च जन्माएको पाइएको छ । यसको गर्भावस्थाको अवधि करिब दुई महिनाको रहने यस क्षेत्रका जानकारको भनाइ छ। रासस